दार्चुला, । बुधबारदेखि निरन्तर भइरहेको वर्षाका कारण घाम नपर्दा दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको छ । बिहीबारदेखि नेपाल टेलिकमको टेलिफोन र इन्टरनेटका सम्पुर्ण सेवाहरुका साथै निजि कम्पनी एनसेलको सेवा समेत बन्द हुँदा सेवाग्राहीहरु प्रभावित भएका छन् । सञ्चार अभावमा व्याक्तिगत र संस्थागत कार्यालयको दैनिक कार्यसम्पादनमा समस्या हुनुका साथै गाउँ–गाउँसम्म सम्पर्क गर्न सकिएको छैन् ।
आर्थिक बर्ष सकिन लागेको कारण बैंकहरु, कोष तथा लेखा नियन्त्रण कार्यालय, सरकारी कार्यालयहरुमा भुक्तानी लिने सेवाग्राहीहरुको भीड लागेको छ । तर इन्टरनेटले काम नगर्दा रित्तोहात फर्किनुपर्ने बाध्यता रहेको छ ।
लोटस कम्प्युटर सेन्टरका सञ्चालक जेहेन्द्र महराका अनुसार इन्टरनेट नचल्दा लोकसेवा आयोग र अद्ययन अद्यापन अनुमती पत्रको फाराम भर्न समेत सकिएको छैन । मालिकार्जुन २ बालशिखरस्थित नेपाल टेलिकमको रिपिटर टावरमा विद्युत अभाव हुदा ल्यान्डलाइन, जिएसएम, सिडिएमए, एडिसिएल इन्टरनेटका सम्पुर्ण सेवाहरु बन्द भएका छन् ।
नेपाल टेलिकम दार्चुलाका अनुसार, विद्युत सेवा आपुर्ती नभएको र सोलार पाताहरुमा घाम नपरेकै कारण ब्याट्री चार्ज नभएर तीन दिन देखी फोन र इन्टरनेट सेवा बन्द भएको हो । अहिलेसम्म जिल्लाका दुई दर्जन टावरहरुमध्ये आधादर्जन टावरमा मात्रै विद्युत् पुगेको छ ।
सौर्य उर्जाको भरमा सञ्चालित बाकी टावरहरु घाम परेको बेला मात्रै चल्ने गरेका छन् । मार्मा गाउँपालिकाका स्थानीय नरेन्द्र जोशीले नेपाल टेलिकमप्रति गुनासो गर्दै भने, टेलिकमका टावरहरुसम्म विद्युतीकरण नहुनु, भौगोलिक विकटता र मौसमको प्रतिकुलताका कारण सञ्चार सेवा बाट बेलाबेला बञ्चित हुनुपरेको छ ।’
मार्मा क्षेत्रमा अहिलेसम्म घामकै भरमा सञ्चार चल्ने र रातिको समयमा सञ्चारविहिन हुनुपर्ने अवस्था छ । विज्ञान र प्रविधिको युगमा दार्चुलाका वासिन्दाले प्रभावकारी टेलिफोन सेवाको समेत उपभोग गर्न पाएका छैनन् ।
प्रतिकृया दिनुहोस