६५ वर्षमाथिका व्यक्तिलाई ज्येष्ठ नागरिकको मान्यता दिन कांग्रेसको माग

Yugnepal     731 पटक पढिएको    

६५ वर्षमाथिका व्यक्तिलाई ज्येष्ठ नागरिकको मान्यता दिन कांग्रेसको माग

  
काठमाडौं,  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दबाब दिन सुरु गरेको छ।

कांग्रेस सचेतक पुष्पा भुसालले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिक तोक्न सरकारलाई दबाब दिएकी हुन्। आइतबार बसेको संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिक सम्बन्धि विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष नै राख्नुपर्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने पार्टीको पूरानै अडान दोहोर्‍याइन्।

सचेतक भुसालले भुगोललाई हेरेर पनि सरकारले ६५ वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिएर सेवा र सुविधा उपलब्ध गराउनुपर्ने तर्क पनि गरिन्। उनले विधेयकमा ‘अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकोमा पनि आपत्ति जनाइन्। ज्येष्ठ नागरिकहरुलाई वर्गीकरण गर्न नहुने उनको भनाइ थियो।

बैठकमा सत्तारुढ नेकपाकी सांसद विनुकुमारी श्रेष्ठले पनि ज्येष्ठ नागरिकहरुलाई वर्गीकरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

उनले ८० वर्ष पूरा भएका नागरिकलाई विशेष सुविधाको व्यवस्था गर्न हुने तर ज्येष्ठ नागरिकहरुमाथि नै विभेद हुने गरी अति ज्येष्ठ नागरिक भन्ने प्रावधान भने राख्न नहुने स्पष्ट पारिन्।

सरकारले समितिमा पेश गरेको विधेयकमा ८० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई अति ज्येष्ठ नागरिकको मान्यता दिने प्रावधान राखिएको छ। त्यसप्रति सत्तारुढ नेकपाकै सांसद श्रेष्ठको असहमति छ।



आइतबार २९, असार २०७६ ०४:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal