काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
त्रिभुवन विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका हुन्।
त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिक दिवसको अवसर पारेर आयोजित बुधबार काठमाडौंमा आयोजित प्राज्ञ सभालाई सम्बोधन गर्दै उनले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीहरुलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने पनि स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले मुलुकको शिक्षा क्षेत्रलाई विश्वमै प्रतिस्पर्धा गर्न लायक बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताए। उनले मुलुकको आवश्यक्ता अनुसार दक्ष जनशक्ति निर्माणमा अग्रसर हुन पनि सबै विश्वविद्यालयहरुलाई आग्रह गरे।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको छविनै धुमिल हुने गरी गल्ती नगर्न विश्वविद्यालयका पदाधिकारीहरुलाई सचेत गराए। उनले विश्वविद्यालयभित्र कल्पना समेत गर्न नसकिने खालका बेथिति भित्रिएको उल्लेख गर्दै दुःख पनि व्यक्त गरे।
बैठकमा विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा। तीर्थराज खनियाले विश्वविद्यालयको आगामी नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए।
प्रतिकृया दिनुहोस