पत्रकार महासंघका माग संशोधनबाट समेट्न नेकपाको लिखित प्रतिबद्धता

Yugnepal     764 पटक पढिएको    

पत्रकार महासंघका माग संशोधनबाट समेट्न नेकपाको लिखित प्रतिबद्धता

काठमाडौं,  नेकपाको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले मिडिया काउन्सिल विधेयकबारे पत्रकार महासंघका मागलाई संशोधन गरी समेट्ने लिखित प्रतिबद्धता जनाएका छन्।

महासंघलाई ‘ध्यानाकर्षण भएकोबारे’ शीर्षकमा पत्र लेखी यस्तो प्रतिबद्धता जनाएका हुन्। राष्ट्रियसभामा विचाराधीन उक्त विधेयकबारे भट्टराईले पत्रमा लेखेका छन्, ‘मिडिया काउन्सिल विधेयकका सम्बन्धमा नेपाल पत्रकार महासंघ लगायतले काउन्सिल गठन, स्वायत्तता र जरिवाना गर्ने व्यवस्था लगायत उठाएको चासो र सरोकारका सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

त्यस सम्बन्धमा संविधान र संसदीय प्रक्रियाबमोजिम तपाईंहरूको चासो र सरोकारलाई हाम्रो प्रष्ट प्रतिबद्धता रहेको व्यहोरा जानकारी गराउन चाहन्छौँ।’ उनले संसद्मा विचाराधीन अन्य सञ्चारसम्बन्धी विधेयकमा पनि संविधान र आम सञ्चार नीति २०७३ बमोजिम पत्रकार महासंघ र अन्य संबद्ध पक्षसँग छलफल गरी संशोधन गर्ने गरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

लिखित प्रतिबद्धता जनाउनुअघि नेकपा संसदीय दलको कार्यालयमा नेकपा महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङ, नेता योगेश भट्टराई तथा प्रमुख सचेतक खिमलाल भट्टराईले महासंघ अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्टलगायतसँग छलफल गरेका थिए। 



मङ्गलबार २४, असार २०७६ ०५:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal