बैंकिङ मर्जर  एकदर्जन सिईओको जागिर धरापमा

Yugnepal     616 पटक पढिएको    

बैंकिङ मर्जर  एकदर्जन सिईओको जागिर धरापमा


 बैंकिङ क्षेत्रमा बीग मर्जरको चटारो सुरु भइसकेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले मर्जरमा जाने पार्टनरको खोजी र छलफल प्रक्रियालाई तीव्र गतिमा अघि बढाइरहेका छन् । विशेष गरी वाणिज्य बैंकहरुमा बढी दौडधूप देखिएको छ । जसले एक दर्जन सीईओको जागीर धरापमा पारेको छ ।

अहिले २८ वटा वाणिज्य बैंक संचालनमा छन् । यो संख्यालाई १२।१४ मा झार्ने राष्ट्र बैंकको लक्ष्य छ । बजेटले नीतिगत व्यवस्था गरिसकेको यो व्यवस्थालाई अब मौद्रिक नीतिले थप व्यवस्था गरी कार्यान्वयनमा ल्याउँदैछ । मौद्रिक नीतिको तयारी सुरु भएदेखि नै बीग मर्जरको विषयमा राष्ट्र बैंक कडा ढंगले प्रस्तुत भएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सीईओ र अध्यक्षहरुलाई मिटिङमा बोलाएर यससम्बन्धी छलफल गरिसकेको छ । वाणिज्य बैंकहरुलाई मौद्रिक नीति आउनुअघि नै मर्जर प्रतिवद्धता पेश गर्न निर्देशन समेत दिइएको छ ।

राष्ट्र बैंकको निर्देशन नै पाएपछि बैंकहरु मर्जर तथा एक्विजिसनका लागि सम्भावना खोज्ने, अध्ययन गर्ने र छलफल गर्ने कार्यमा जुटेका छन् । ग्लोबल आईएमई बैंक र जनता बैंकले सम्झौता समेत गरिसकेका छन् । त्यस्तै, प्राइम बैंकले कैलाश विकास बैंकसँग मर्जर सम्झौता गरेको छ । राष्ट्र बैंकको अठोट र बैंकहरुको दौडधूप देख्दा छिटै नै वाणिज्य बैंकको संख्या उल्लेख्य मात्रामा घट्ने देखिन्छ ।

बैंकर्स संघका अध्यक्ष समेत रहेका नेपाल बंगलादेश बैंकको सीईओ ज्ञानेन्द्र ढुंगाना मौद्रिक नीतिभन्दा अघि नै सबै बैंकहरुले मर्जर प्रतिवद्धता पेश गर्नु सम्भव नरहेको बताउँछन् । यता, राष्ट्र बैंक भने यसपाली वाणिज्य बैंकको संख्या घट्ने कुरामा विश्वस्त छ । जसअनुसार, कम्तीमा पनि एक दर्जन सीईओहरुको जागीर खोसिँदैछ ।

यसबाहेक, विकास बैंक र फाइनान्स कम्पनीहरु पनि मर्जरमा जानेछन् । लघुवित्त क्षेत्रमा पनि मर्जरको प्रक्रिया चलिरहेको छ । यस हिसाबले हेर्दा, वित्तीय क्षेत्रका थुप्रै सीईओहरुको जागीर धरापमा रहेको छ ।  बैंकिङ खबर  बाट साभार।



आइतबार २२, असार २०७६ ०१:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal