संसारको सबैभन्दा ठुलो बैंक  जसले दिन्छ साढे चार लाखलाई रोजगारी

Yugnepal     807 पटक पढिएको    

संसारको सबैभन्दा ठुलो बैंक  जसले दिन्छ साढे चार लाखलाई रोजगारी

 आईसीबीसी अर्थात इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना संसारकै सबैभन्दा ठूलो बैंक हो । यो बैंकले साढे चार लाख भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेको छ । पछिल्लो तथ्यांक अनुसार यो बैंकमा काम गर्ने कर्मचारीको संख्या चार लाख ५३ हजार ४८ रहेको छ । पूर्ण रुपमा ग्राहक केन्द्रित सेवाहरुमा जोड दिने यो बैंकले विकासका कार्यहरुको सुरुवातमा सहयोग गर्ने उद्देश्य बोकेको छ । ६२ लाखभन्दा बढी कर्पोरेट ग्राहक र ५७ लाख व्यक्तिगत ग्राहकहरुलाई आईसीबीसीले सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले आफ्नो सेवा र सुविधामा क्रमशः विकास र विस्तार गर्दै लगेको छ । हाल यो बैंकले ४५ वटा मुलुकमा आफ्नो सेवाहरु विस्तार गरिसकेको छ ।

बैंकिङ सेवाहरु
आईसीबीसीले कर्पोरेट बैंकिङ, पर्सनल बैंकिङ र ट्रेजरी अपरेसन गरी तीन किसिमको सेवा प्रदान गर्दछ । कर्पोरेट बैंकिङ अन्तर्गत बैंकले कर्पोरेसनहरु, सरकारी एजेन्सीहरु र वित्तीय संस्थाहरुका लागि प्रोडक्ट उपलब्ध गराउँछ । यस बैंकिङअन्तर्गतका प्रोडक्टहरुमा कर्पोरेट लोन, ट्रेड फाइनान्सिङ, निक्षेप संकलन, कर्पोरेट वेल्थ मेनेजमेन्ट सर्भिस, सुरक्षा सेवा लगायतका अन्य कर्पोरेट मध्यस्थ सेवाहरु रहेका छन् ।

त्यस्तै, पर्सनल बैंकिङ अन्तर्गत व्यक्तिगत कर्जा र कार्डहरु, निक्षेप, व्यक्तिगत सम्पत्ति व्यवस्थापन र व्यक्तिगत मध्यस्थ सेवाहरु रहेका छन् भने ट्रेजरी अपरेसन मनि मार्केट ट्रान्ज्याक्सन, लगानी सुरक्षा र विदेशी विनिमय कारोबारसँग सम्बन्धित रहेको छ । यसबाहेक, आईसीबीसीले ईबैंकिङ, ब्रोकर डिलर, बीमा, कोष एवम् पुँजी व्यवस्थापन, ट्रष्ट, फाइनान्सियल लिजिङ जस्ता सेवाहरु पनि प्रदान गर्दछ ।

वित्तीय अवस्था
३१ मार्च २०१९ को रिपोर्टअनुसार, आईसीबीसीले ८२ हजार छ सय ९० मिलियन युआन खुद नाफा कमाएको छ । पुँजी एक वर्षमा ५।५९ प्रतिशतले बढेर दुई करोड ९२ लाख ४६ हजार पाँच सय ७२ मिलियन युआल पुगेको छ । कर्जा प्रवाह एक करोड ५९ लाख ३२ हजार चार सय दुई मिलियन युआन पुगेको छ भने लगानी ७१ लाख २१ हजार छ सय १६ मिलियन युआन पुगेको छ । प्रतिसेयर आम्दानी ४।५५ प्रतिशतले बढेर ०।२३ पुगेको छ ।

१ जनवरी १९८४ मा स्थापना भएको यो बैंक औद्योगिक एवम् व्यवसायिक क्षेत्रमा केन्द्रित रहेको छ । यद्यपि, यसले व्यक्तिगत प्रकारका कर्जाहरु पनि उपलब्ध गराउँछ । २८ अक्टोबर २००५ मा यो बैंकलाई जोइन्ट स्टक लिमिटेड कम्पनीमा परिणत गरिएको थियो भने २७ अक्टोबर २००६ देखि सांघाई स्टक एक्सचेञ्ज र स्टक एक्सचेञ्ज अफ हङकङमा सूचिकृत गरिएको थियो । चिनको बेइजिङमा केन्द्रीय कार्यालय रहेको आईसीबीसीको लगानीमा हाल १६ हजार तीन सय ९४ स्वदेशी संस्थाहरु संचालनमा छन् भने ४२६ ओभरसिज कम्पनीहरु संचालनमा छन् ।  बैंकिङ खबर बाट साभार ।



आइतबार २२, असार २०७६ ११:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal