काठमाडौं, नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा दुई जना मुख्यमन्त्रीहरू डोरमणि पौडेल र शङ्कर पोखरेल तीन वटा अलग–अलग प्रतिनिधिमण्डकलकोे नेतृत्व गर्दै चीन भ्रमणमा छन्।
परराष्ट्रमन्त्री ज्ञवाली डालियान शहरमा असार १६–१८ मा आयोजना हुने विश्व आर्थिक मञ्चको १३औँ वार्षिक बैठकमा भाग लिन असार १५ गते अपरान्ह चीनतर्फ प्रस्थान गरेका थिए । उनले ‘विश्व अर्थतन्त्रमा नयाँ अवसरहरूको खोजी स् विश्वका आर्थिक नेताहरूको अनौपचारिक छलफल’ मा पनि सहभागिता जनाइसकेका छन्।
उनले सन् २०२० का लागि जी–२० कार्यसूचीका विषयक छलफलमा पनि सहभागिता जनाए । मन्त्री ज्ञवाली आज बेइजिङ प्रस्थान गरिसकेका छन् । मन्त्री ज्ञवालीको टोलीमा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल पनि छन् । उनी २० गते काठमाडौँ फर्कने छन्।
प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल पनि चीनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै असार १६ गतेदेखि चीन भ्रमणमा छन्।
चाइना साउथर्न एयरलाइन्सबाट छेन्दु उडेका उनको टोलीमा नेकपा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, नेकपा प्रदेश ५ की सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिकका मेयर घननारायण श्रेष्ठ, युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर अध्यक्ष प्रेमकुमार राई, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी, स्वकीय सचिव तिरनराज गौतम, युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द, मञ्जुदेवी साह, मोहन बाँस्तोला र देविका घर्ती छन् । यो टोली २५ गते मात्र स्वदेश फर्कने छ।
अर्का मुख्यमन्त्री ९प्रदेश ३० मुख्यमन्त्री पोखरेल उडेको भोलिपल्ट बिहान असार २५ गते चीन प्रस्थान गरे । गान्सु प्रान्तका गभर्नर ताङ रेन्जिअनको निमन्त्रणामा मुख्यमन्त्री पौडेल ७ जनाको टोलीसहित त्यसतर्फ गएका छन् । असार १८ गतेदेखि चार दिनसम्म चल्ने विभिन्न कार्यक्रममा मुख्यमन्त्री पौडेलले सहभागिता जनाउने बताइएको छ।
पौडेलले डेभलपमेन्ट फोरम एन्ड कोरिडोर लजिस्टिक इन्डस्ट्री प्रोमोसन कार्यक्रममा सहभागिता जनाउने बताइएको छ । भोलि ‘लान्झाउ इन्भेस्टमेन्ट एन्ड टे«ड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्क रोड कोअपरेसन’ फोरममा मुख्यमन्त्री पौडेलको सम्बोधनको कार्यक्रम छ । सोही कार्यक्रमकाबीच गान्सु प्रान्तका गभर्नरसँग भेट गर्ने कार्यक्रम छ।
असार २० गते ‘सस्टिनेबल डेभलपमेन्ट फोरम अफ सिल्क रोड सिटिज’ मा सहभागी हुनुका साथै त्यहाँको विभिन्न स्थानको अवलोकन समेत गर्ने कार्यक्रम राखिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । उनको भ्रमण दलमा धर्मपत्नी विजया पौडेल, प्रदेशसभा सदस्यहरू जुनेली श्रेष्ठ, कन्चन खनाल र राधा घले, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव भोला दाहाल र मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचिव अनुप पौडेल छन् । यो टोली असार २२ गते नेपाल फर्कने जनाइएको छ।
अहिले नेपाल सरकारका उच्च अधिकारीहरूमा चीन भ्रमणको आकर्षण बढ्दै गएको छ । कुनै न कुनै टोली हरेक महिना चीन भ्रमणमा हुन्छन्। गत बैशाख ११ गतेदेखि १९ गतेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले राजकीय चीन भ्रमण गरेकी थिइन्। राष्ट्रपति भण्डारीको भ्रमण दलमा पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल सहभागी थिए।
प्रतिकृया दिनुहोस