काठमाडौं, असार १७ साढे ३३ किलोग्राम सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा विराटनगर उच्च अदालतका न्यायाधीशलाई बर्खास्त गरिएको छ।
हिजो बसेको न्याय परिषद्को बैठकले विराटनगर उच्च अदालतका न्यायाधशि उमेश सिंहलाई बर्खास्त गर्ने निर्णय गरेको हो। साढे ३३ किलो सुन तस्करी र सनम हत्या मुद्दामा मोरङ जिल्ला अदालतले थुनामा राख्न आदेश दिएका अभियुक्तलाई विराटनगर उच्च अदालतले धरौटी र तारेखमा थुनामुक्त गरेको थियो।
त्यसको चर्को विरोध भएको थियो भने न्याय परिषदमा उच्च अदालतका न्यायाधीशविरुद्ध उजुरी परेको थियो।
न्याय परिषद्का अध्यक्षसमेत रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले छानविन सुरू गरेका थिए। ६ महिना लगाएर गरिएको न्यायाधीश सिंह र अन्य दुई जना न्यायाधीश दोषी देखिएका थिए।
न्याय परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश जबराको अध्यक्षतामा सोमबार बसेको परिषद्को बैठकले विराटनगर उच्च अदालतका न्यायाधीश सिंहलाई बर्खास्त गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए।
उनका अनुसार, विराटनगर उच्च अदालतका न्यायाधीशद्वय थीरबहादुर कार्की र साधुराम सापकोटालाई पनि कारवाही गरिएको छ। उनीहरूको दुई वर्ष बढुवा रोक्का गर्ने निर्णय गरिएको छ।
यस अघि तीन जनालाई कारवाही किन नगर्ने भन्ने स्पष्टिकरण सोधिएको थियो। उनीहरूको स्पष्टिकरण चित्त बुझ्दो नभएपछि कारवाही गरिएको हो।
त्यस्तै, न्याय परिषदको बैठकले विराटनगर उच्च अदालतकै दुई न्यायाधीश उमेश पौड्याल र नागेन्द्रलाल कर्णलाई सफाइ दिएको छ। दुवै जनाले यस अघि नै अवकास पाइसकेका छन्।
प्रतिकृया दिनुहोस