धनगढी । सुदूरपश्चिम प्रदेश साक्षर घोषणा भएको छ । सामाजिक विकास मन्त्रालयले बिहीबार आयोजना गरेको ‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा समारोहमा मुख्यमन्त्री कमलबहादुर शाहले साक्षर प्रदेश घोषणा गरेका हुन् ।
साक्षर घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले साक्षर प्रदेश घोषणा हुनु ठूलो उपलब्धि भएको बताए । उनले भने ‘ढिलो चाडो भएपनि मुलुकको अवस्था परिस्थिति जुन ठाउँमा पुगेको छ । यसलाई उपलब्धिका रुपमा लिनुपर्छ ।’
उनले भने ‘जुनलक्ष्य प्राप्तिका लागि हामी अगाडि बढेका थियौँ,त्यो लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा चौथो प्रदेशका रुपमा हामी साक्षर भएका छौँ । यस साक्षर अभियानलाई सफल बनउन सहयोग गर्ने सम्पूर्ण निकायलाई धन्यवाद दिन चाहन्छु ।’
प्रदेशका सबै जिल्लाहरु विभिन्न मितिमा घोषणा भएसँगै प्रदेशलाई साक्षर घोषणा गरिएको हो । १५ देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरु ९५ प्रतिशतभन्दा बढी साक्षर भइसकेपछि साक्षरता घोषणा गर्ने प्रावधान बमोजिम साक्षर प्रदेश घोषणा गरिएको हो ।
यस प्रदेशको कुल साक्षरता प्रतिशत ९६ दशमलव १९ प्रतिशत रहेको शिक्षा विकास निर्देशनायले जनाएको छ । निर्देशनालयको तथ्यांक अनुसार दार्चुलामा ९५/४०,बैतडीमा ९६/५३,डडेल्धुरामा ९६।८ बझाङमा ९५/६०,बाजुरामा ९७।३१,डोटीमा ९६/५५,अछममा ९५/५५,कैलालीमा ९६।२० र कञ्चनपुरमा ९६/२१ प्रतिशत साक्षर रहका छन् ।
साक्षरता घोषणाका लागि विभिन्न १२ वटा मापदण्ड बनाइएको र त्यसमा छ वटा मापदण्ड पूरा गरेका व्यक्तिलाई साक्षरता भएको प्रमाणपत्र प्रदान गर्ने गरिएको निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिम साक्षर घोषणा हुने चौथो प्रदेश हो । यसअघि बागमती, गण्डकी र कोशी प्रदेश साक्षर प्रदेशको रुपमा घोषणा भइसकेका छन् ।
प्रतिकृया दिनुहोस