१२ दिनमा १३ लाख किशोरीले लगाए एचपिभी खोप

युग संवाददाता     55 पटक पढिएको    

१२ दिनमा १३ लाख किशोरीले लगाए एचपिभी खोप

 


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानअन्तर्गत १२ दिनमा १३ लाखभन्दा बढी किशोरी लाभान्वित भएका छन् ।

अभियानको १२औं दिन अर्थात शनिबारसम्म उल्लिखित परिमाणमा किशोरीहरुले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हालसम्म अभियानलाई सफल पार्न खटिने सबै स्वास्थ्यकर्मीहरु, स्वयंसेवक, सहयोगी विद्यालयलगायत सहयात्रीहरुलाई अनवरत मेहनतका लागि भन्दै धन्यवाद ज्ञापन गरेका छन् । गत माघ २२ गते सुरु भएको अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ ।

अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीहरुलाई स्थानीय तहमा रहेका केन्द्रहरुमार्फत खोप प्रदान गरिएको छ ।

अबको अवधिमा छुटेकाको पहिचान गरी खोप प्रदान गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । अभियानका क्रममा करिब १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।

मन्त्री पौडेलले पदभार सम्हालेपछि पहिलो निर्णय राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेका थिए । त्यसयता क्यान्सरको उपचार सातै प्रदेशमा पुर्याउने निर्णय कार्यान्वयनमा आइसकेको मन्त्रालयको भनाइ छ । क्यान्सरविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने मन्त्री पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा उल्लेख छ । सोही अनुसार किशोरीहरुलाई खोप दिने कार्यक्रम अघि बढाइएको प्रवक्ता बुढाथोकीले बताए ।

नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाहरुको सङ्ख्या उच्च छ । सानै उमेरमा खोप लगाएर यो समस्या कम गर्ने योजनाअनुसार निरोधात्मक विधिअन्तर्गतका कार्यक्रमसमेत अघि बढिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । रासस



आइतबार ०४, फागुन २०८१ १०:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal