नागरिक उन्मुक्ति झन् दलदलमा, रेशमलाई लुम्बिनीमा धक्का

युग संवाददाता     297 पटक पढिएको    

नागरिक उन्मुक्ति झन् दलदलमा, रेशमलाई लुम्बिनीमा धक्का

 

बुटवल । विवादमा रहेको नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलाई लुम्बिनी प्रदेशमा धक्का लागेको छ । चौधरीले लुम्बिनीको संसदीय दलको नेता फेरेर मन्त्री बनाउने पहललाई प्रदेश सभाले रोकेको छ ।


नाउपाले संसदीय दलको नेता फेरेको जनाएपनि प्रदेश सभाले मान्यता नदिएपछि रेशम चौधरीलाई धक्का पुगेको छ । प्रदेश सभाले बिहीवार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै नाउपाको संसदीय दलको नेता रहेका छन् । 

दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य रहेकी छन् । यसअघि संसदीय दलको नेताबाट धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको विवरण सहितको पत्र गत ७ गते प्रदेश सभामा पेश गरिएको थियो ।

बहुमत सांसदको सोमबार बसेको बैठकले राजकुमार चौधरीलाई दल नेता बनाउने, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारूलाई चयन गरिएको जानकारी प्रदेश सभालाई दिइएको थियो । लुम्बिनीमा नाउपाका ४ जना सांसद छन् ।

संसदीय दलको नेताबाट हटाईएका चौधरी पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ निकट हुन भने राजकुमार संरक्षक रेशमलाल चौधरी पक्षका हुन् ।

श्रीमान्–श्रीमती रहेका रेशम र रञ्जिताबीचको विवादले नाउपा केन्द्रदेखि प्रदेशसम्म दुई भागमा विभाजित भएको छ । 

योसँगै लुम्बिनीमा राजकुमारलाई दलको नेता बनाएर मन्त्री बनाउने रेशमको तयारीमा धक्का लागेको छ । 



शुक्रबार ११, साउन २०८१ ०२:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal