सुदूरपश्चिमका ९ वटै  जिल्लाका ३ हजार घरपरिवार   प्रभावित, पाँचको मृत्यु, २ जना बेपत्ता

युग संवाददाता     163 पटक पढिएको    

सुदूरपश्चिमका ९ वटै  जिल्लाका  ३ हजार घरपरिवार   प्रभावित, पाँचको मृत्यु, २ जना बेपत्ता

धनगढी /  शनिबारदेखि परेको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका करिब सबै जिल्ला प्रभावित भएको छ । कैलाली र कञ्चनपुरमा बाढीले वितण्डा मच्चाएको छ भने पहाडी सात जिल्लामा बाढी र पहिरो दुबैका कारण जनजीवन प्रभावित भएका छन् । सोमबार मात्रै प्रदेशका ९ वटै जिल्लामा करिब ३ हजार जनालाई सुरक्षित स्थानमा सारिएको थियो । वर्षा रोकिएपछि उनीहरु मध्ये केही घर फर्किएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सबै भन्दा धेरै प्रभावित कञ्चनपुरमा रहेका छन् ।


कञ्चनपुरमा मात्रै ४०९ परिवारका १ हजार ७६० जनालाई सुरक्षित स्थानमा राखिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डिआइजी रवीन्द्र केसीले जानकारी दिए । उनले अहिले स्थिति सामान्य हुँदै गएको बताए । ‘केही घण्टा अघिसम्म अवस्था विकराल थियो अहिले अवस्था सामान्य बन्दै गइरहेको छ’ उनले भने । उनका अनुसार कैलालीमा १४८ परिवारका ४५८ जना, दार्चुलामा १६ परिवारका ९९ जना र बैतडीमा ९९ परिवारका ३०० जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।


त्यस्तै डोटीमा ४ परिवारका १८ जना, अछाममा १० परिवारको ५४ जना, बझाङमा १२ परिवारको ४५ जना, डडेल्धुराको ४ परिवारका २१ जना, र बाजुराका १ परिवारका ६ जनालाई स्थानान्तरण गरिएको उनले बताए । अविरल वर्षाका कारण आएको बाढी बस्तीमा पसेपछि कञ्चनपुरबाट ३९ जनाको उद्धार गरिएको छ । प्रभावित स्थानीयको उद्धारका लागि दुई हजार प्रहरी परिचालन गरिएको डिआइजी केसीले जानकारी दिए । उनले भने– ‘प्रभावितहरूलाई खानाको व्यवस्थापन र स्वास्थ्यको समस्या समाधान गर्नेबारे छलफल भइरहेको छ । उद्धारमा कुनै कसर बाकी नराख्ने गरि निर्देशन दिएका छौँ ।’


अविरल वर्षाले महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका थिए । महाकालीमा पानीको बहाव बढेपछि नेपालतर्फका सबै ढोका खोलिँदा तटीय क्षेत्र भीमदत्त नगरपालिका–११, १२ र १३ का बस्ती प्रभावित भए । यस्तै, महाकालीको पानीले दोधारा चाँदनी नगरपालिकाका बस्ती पनि निकै प्रभावित भए। ती बस्तीहरूमा पानी पसेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गर्नु परेको थियो । महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा तीन दिनदेखि सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि शारदा ब्यारेजमा रोक लगाइएको सवारीसाधन आवागमन अझै सञ्चालन भएको छैन । शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि सवारीसाधनमा रोक लगाइन्छ ।

पाँचको मृत्यु, दुई बेपत्ता

शनिवारदेखि परेको झरीका कारण कञ्चनपुर र डडेल्धुरामा गरि पाँच जनाको मृत्यु भएको छ । सोमबार पुनर्वास नगरपालिका–५ ९ग० गाउँ रातोखालेको पानीका डुबेर सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटीको मृत्यु भएको हो । डुबान भएको खल्ला क्षेत्रमा पौडी खेल्ने क्रममा उनीहरु तीनै जना बेपत्ता भएका थिए । लक्ष्मी र सृजनाको शव फेला परेको केही घण्टा पछि आरतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए।

१२ वर्षकी अञ्जली बोगटी पनि सँगै पौडी खेल्न गएको थिइन् । तर उनी पौडी नखेलेर फिर्ता आएको र उनले तीन जनालाई खोलाले बगाएको बताएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो । त्यसको केही घण्टा पछि उनीहरु सबैको शव फेला परेको हो । त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की सङ्गीता धामीका सात महिने बालकको डुबेर मृत्यु भएको छ । गए राति सुतिरहेकै अवस्थामा ओछ्यानबाट तल पानीमा खसेर सात महिने बालकको ज्यान गएको हो । उता डडेल्धुराको पहिरामा परी परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको थियो । शनिबार बेलुका पहिरोबाट खसेको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए ।

यता कैलाली कञ्चनपुरमा दुई जना बेपत्ता भएका छन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय डम्बर चौधरी नदीले बगाउँदा बेपत्ता भएका छन् । चौधरी नदी तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् । उनी आइतबार ६ जनाको समूहमा सीमावर्ती भारतीय गाउँ टाटरगन्ज माछा मार्न गएका थिए । फर्किने क्रममा बेलडाडी–५, झिलमिलमा रहेको चौधर नदीमा बगेर उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यता, कैलालीमा पनि एक जना बेपत्ता भएका छन् । कैलारी गाउँपालिका–९, गदरियाका १७ वर्षीय अजय राना आइतबार डुबेर बेपत्ता भएका हुन् । राना सोही ठाउँको भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



सोमबार २४, असार २०८१ ०२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal