सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्रीमण्डल विस्तार

युग संवाददाता     84 पटक पढिएको    

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्रीमण्डल विस्तार


नाउपाका थप दुई मन्त्री र एक राज्यमन्त्री

 धनगढी  / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीमण्डल विस्तार गरेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको शाह नेतृत्वको सरकारमा आज शुक्रबार नागरिक उन्मुक्ति पार्टी ९नाउपा० बाट २ जना मन्त्री र एक जना राज्यमन्त्री बनेका छन् । यससँगै प्रदेश सरकारमा नाउपाका तीन मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

नाउपाका घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, खुसीराम डगौंरा थारु विनाविभागीय मन्त्री बनेका छन् । भने इन्दिरा गिरीले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् । यससँगै मन्त्रीपरिषद्मा पाँच जना मन्त्री र एक राज्यमन्त्री पुगेका छन् ।

 

नवनियुक्त मन्त्रीद्वय मन्त्रीद्वयलाई आजै राती करिब पौने ९ बजे प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । त्यस्तै, प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्रीश शाहले राज्यमन्त्री गिरीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण कार्यक्रममा सभामुख भीमबहादुर भण्डारी, मन्त्रीहरु, राज्यमन्त्री, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, सरकारका प्रमुख सचिव तथा उच्चपदस्थ कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

सपथ ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा मुख्यमन्त्री शाहले सबैलाई संगै लगेर अघि बढ्ने प्रयासस्वरुप मन्त्रीपरिषद् विस्तार गरिएको बताए । उनले आफू स्थिर र बहुमतको सरकार निर्माणका लागि प्रयासरत रहेको बताए ।

केन्द्रमा भएको सत्तासमीकरण परिवर्तनपछि सुदूरपश्चिम प्रदेशमा पनि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिइसकेका छन् । शाह नेतृत्वका सरकारलाई हाल काँग्रेसका १८ र नाउपाका ७ गरी २५ जना सांसदको समर्थन रहेको छ ।

सुदूरपश्चिम प्रदेश सभामा एमालेका १०, माओवादीका सभामुखसहित ११, एकीकृत समाजवादीका ४ राप्रपाका एक र एक जना स्वतन्त्र सांसद रहेका छन् । सरकारलाई बहुमतका लागि २७ जनाको समर्थन आवश्यक पर्छ ।



शनिबार २६, फागुन २०८० ०३:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.