सुदूरपश्चिममा गठबन्धन सरकार बनाउनमा समस्या

युग संवाददाता     151 पटक पढिएको    

सुदूरपश्चिममा गठबन्धन सरकार बनाउनमा समस्या

 


धनगढी । केन्द्रमा नेकपा एमालेलगायत सानादलको सहयोगमा माओवादीको नेतृत्वमा गठबन्धन सरकार बनेपनि सुदुरपश्चिममा सरकार गठनमा सकस भएको छ। सुदूरपश्चिममा उन्मुक्तिले तत्काल सरकारलाई समर्थन नगर्दा प्रदेशमा गठबन्धन सरकार बनाउन समस्या भएको हो। हुन त गठबन्धनमा आबद्ध दलहरूले प्रदेशमा पनि सरकार गठनका लागि आन्तरिक छलफल गरिरहेका छन्।


सात वटै प्रदेशमा गठबन्धनको स्पष्ट बहुमत भएपछि सरकार गठनका विषयमा तीव्र छलफल भइरहेको गठबन्धनमा आबद्ध नेताहरूले बताएका छन्।यसैबीच स्पष्ट बहुमतका बावजुद सुदूरपश्चिम प्रदेश सरकार गठनमा असहज देखिएको छ। ७ सिट रहेको नागरिक उन्मुक्तिले पार्टी संरक्षक रेशम चौधरीको रिहाइ नभएसम्म सरकारलाई समर्थन नगर्ने भएको छ। उन्मुक्तिका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले रेशम चौधरीको रिहाइपछि मात्रै सरकारलाई समर्थन जनाउने बताए।

उनले टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ प्रमुख बटमलाइन भएको बताए। गठबन्धन सरकारका शीर्ष नेताहरूले पार्टी संरक्षक रेशम चौधरीको रिहाइका लागि समय मागेका छन्। हामी त्यो समयको पर्खाइँमा रहेको उनले बताए । हाम्रा नेताको रिहाइ नभएसम्म सुदूरपश्चिम प्रदेशमा सरकारलाई समर्थन जनाउन नसकिने उनले बताए। गत १० पुसमा बालकोटमा भएको निर्णायक छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीको रिहाइका लागि केही समय मागेका थिए।

ओली(प्रचण्डले नागारिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई छिट्टै रेशमको रिहाइ हुने आश्वासन दिएका थिए। रेशम चौधरीको रिहाइ गर्ने आश्वासनपछि नै नागरिक उन्मुक्तिले सरकारलाई समर्थन जनाएको हो। गठबन्धनका नेताहरूले गरेको वाचा कहिले पूरा हुन्छ भन्ने समय कुरिरहेका नागरिक उन्मुक्तिका एक नेताले बताएका छन्। ती नेताले पनि नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइ नभएसम्म सरकारलाई समर्थन नजनाउने निर्णय भएको स्वीकार गरेका छन् । नेताहरूले आफ्नो वाचा पूरा गरोस् भन्ने हाम्रो चाहना पनी भएकाले त्यो बाचा पूरा नभएसम्म सुदूरपश्चिममा गठबन्धन सरकारलाई समर्थन गर्न नसकिने उनले भनेका छन्।

त्यस्तै नागरिक उन्मुक्तिले लुम्बिनी प्रदेश र मधेस प्रदेशमा पनि मन्त्रालयको दाबी गरेको छ। नागरिक उन्मुक्तिले लुम्बिनीमा चार सिट र मधेसमा एक सिट जितेको छ।माओवादीले सुदूरपश्चिम र लुम्बिनी सरकारमा मुख्यमन्त्री दाबी गरेको छ। प्रमुख दल एमालेले चार प्रदेशमा दाबी गरेको छ भने माओवादीले दुई र मधेसमा जसपा र जनमतले सरकारको दाबी गरेको छ। एमालेले प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा दाबी गरेको छ । नागरिक उन्मुक्ति पार्टीले पनि सुदूरपश्चिम प्रदेशमा सरकार नेतृत्वको दाबी गरेको छ। त्यसका लागि गठबन्धनका नेताहरू सकारात्मक रहेको नागरिक उन्मुक्ति पार्टीका एक नेता बताएका छन्।५३ सदस्सीय सुदूरपश्चिम प्रदेशमा माओवादीको ११, एमालेको १०, नागरिक उन्मुक्तिको ७ र राप्रपाको १ सिट रहेको छ। नागरिक उन्मुक्तिले समर्थन नजनाउँदा गठबन्धको सरकार बन्ने अनिश्चित देखिन्छ। यद्यपि सुदूरपश्चिम प्रदेशमा १९ सिटसहित नेपाली कांग्रेस पहिलो दल हो भने नेकपा एकीकृत समाजवादीसँग ४ सिट रहेको छ। एकीकृत समाजवादी पार्टी सरकारमा आबद्ध हुँदा समेत गठबन्धनसँग २६ सिटमात्र पुग्छ। सरकार बनाउनका लागि २७ सिट आवश्यक पर्छ।



बिहिबार १४, पुष २०७९ ०६:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.