सुदूरमा प्रतिनिधिसभाका १६ मध्ये १२ निर्वाचन क्षेत्रको टुङ्गो लाग्यो

युग संवाददाता     144 पटक पढिएको    

सुदूरमा प्रतिनिधिसभाका १६ मध्ये १२ निर्वाचन क्षेत्रको टुङ्गो लाग्यो

धनगढी  । जम्मा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा हालसम्म १२ वटा निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेका छन् भने कञ्चनपुरमा तीन, अछाममा दुई र बाँकी जिल्लामा एक-एक निर्वाचन क्षेत्र रहेको छ । यहाँ दश निर्वाचन क्षेत्रको निर्वाचन नतिजा भए पनि एक निर्वाचन क्षेत्रमा मतदान प्रक्रिया रोकिएको छ।

प्रतिनिधिसभातर्फ डडेलधुराबाट प्रधानमन्त्री शेरबहादुर देउवाले सातौँ पटक निर्वाचनमा विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल र नेपाली काँग्रेस बिपीका नेता कर्ण मल्ललाई पराजित गरेका हुन् । विसं २०४८ यता डडेलधुराबाट निरन्तर निर्वाचनमा जित्दै आउनुभएका प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवालाई यस पटक सत्ता गठबन्धन दलको दरिलो साथसमेत थियो ।

त्यसै गरी नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं सत्ता गठबन्धनका उम्मेदवार वीरबहादुर बलायर कैलाली निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका छन् । पूर्व मन्त्रीसमेत रहेका बलायरले यसअघि २०७० सालको निर्वाचनमा डोटीबाट निर्वाचन जित्नुभएको थियो । विसं २०७४ मा तत्कालीन नेकपा एमालेका (हाल एकीकृत समाजवादी पार्टी) नेता प्रेम आलेसित पराजित हुनुभएका नेता बलायरले यस पटक भने सत्ता गठबन्धनका कारण कैलाली सर्नुपरेको थियो । निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री लेखराज भट्टलाई पराजित गर्दै बलायर निर्वाचित भएका हुन् ।   त्यसै गरी कैलाली निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका नेता गङ्गाराम चौधरी निर्वाचित भएका छन् ।  चौधरीले सत्ता गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता कृष्णकुमार चौधरीलाई पराजित गरेका छन् । 

यस्तै कैलाली निर्वाचन क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीकै रन्जिता श्रेष्ठ विजयी भएकी छन् ।   कैलालीमा निर्वाचन क्षेत्र नं २  र ५ को गणना भइरहेको छ । त्यसै गरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार पूर्व मन्त्री नारायणप्रकाश साउद निर्वाचित भएका छन् ।  नेपाली काँग्रेसका नेता साउदले नेकपा (एमाले) का नेता नरबहादुर धामीलाई पराजित गर्दै आफू निर्वाचित भए । विसं २०७४ को निर्वाचनमा एमाले उम्मेदवार धामीसित पराजित गरेका काँग्रेस नेता साउद २०७० सालमा पनि निर्वाचित भएका थिए ।  त्यसै गरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पनि नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री रमेश लेखक फराकिलो मतान्तरले निर्वाचित भएका छन् । 

नेकपा (एमाले)का उम्मेदवार निरुदेवी पाललाई पराजित गर्दै सत्ता गठबन्धनका उम्मेदवार लेखक यहाँबाट तेस्रो पटक निर्वाचित भएका हुन् ।  नेता लेखक २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार डा दीपकप्रकाश भट्टसित झिनो मतले पराजित भएका थिए ।   तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा अहिले निर्वाचन क्षेत्र नं १ को गणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ बिना मगर जारी गणनामा पछि परेकी छन् ।  नेकपा (एमाले)का उम्मेदवार पूर्व प्रदेश सरकारका मन्त्रीसमेत रहनुभएका तारा लामा तामाङले यहाँ सुरुवातदेखि अग्रता लिनुभएको छ । निर्वाचन क्षेत्र नं १ मा यसअघि माओवादी केन्द्रकी नेत्री बिना मगर निर्वाचित हुनुभएको थियो । त्यसै गरी दुई निर्वाचन क्षेत्र रहेको अछाममा सत्ता गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन्  ।

अछाम निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता एवं श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर निर्वाचित भएका छन् ।  सो निर्वाचन क्षेत्रमा नेकपा ९एमाले० बाट झपट बोहरा उम्मेदवार थिए । उक्त क्षेत्र नेकपा ९एमाले०का नेता डा भीम रावलको क्षेत्र पनि हो । त्यसै गरी अछाम निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार तथा काँग्रेस नेता पुष्पबहादुर शाह निर्वाचित भएका छन्  ।यहाँ काँग्रेस नेता शाहले एमालेका उम्मेदवार यज्ञबहादुर बोगटीलाई पराजित गरी २३ वर्षपछि उक्त क्षेत्रमा काँग्रेसलाई विजयी बनाएका हुन् । त्यसै गरी डोटी र बझाङमा पनि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेताद्धय प्रेम आले र भानुभक्त जोशी निर्वाचित भएका छन् ।  डोटीमा पूर्व मन्त्री आलेले नेकपा (एमाले)का उम्मेदवार गौरी ओलीलाई पराजित गर्दै जितलाई निरन्तरता दिएका हुन् । यसअघि पनि उनी डोटीबाटै निर्वाचित भएका थिए । 

यता बझाङमा एकीकृत समाजवादीका नेता एवं पूर्व मन्त्री भानुभक्त जोशीले नेकपा ९एमाले० का उम्मेदवार युवा नेता ऐन महरलाई पराजित गरे ।  त्यसै गरी सुदूरपश्चिमको अर्को पहाडी जिल्ला दार्चुलामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेका मन्त्री बडूले नेकपा (एमाले) का उम्मेदवार पूर्व मन्त्री गणेशसिंह ठगुन्नालाई पराजित गरे ।

त्यसै गरी बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका छन् । उनले बैतडीबाट लगातार तेस्रो पटक जितेर ह्याट्रिक गरेका छन् । अहिलेको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजय सुन्दर)लाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् । त्यसै गरी सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा भने मतदानका दिन विभिन्न स्थानमा आक्रमणलगायत तनाव भएपछि मतदान प्रक्रिया नै अघि बढेको छैन ।

निर्वाचनको दिन यहाँ मतदानका क्रममा झडप हुँदा एक जनाको गोली प्रहार र अर्का एक युवकको कुटपिटबाट मृत्यु भएपछि चार दिनयता त्यहाँको अवस्था सामान्य हुन सकेको छैन । बाजुरामा पनि एक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छ । यहाँ सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेय उम्मेदवार छन भने नेकपा एमालेबाट पूर्व मन्त्री कर्ण थापा उम्मेदवार छन् ।



बिहिबार ०८, मङि्सर २०७९ ०४:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.