काठमान्डौं बस्तु विनीमयबाट सुरु भएको बैंकिङ क्षेत्र अब मोवाइलमा केन्द्रीत भएको छ । प्रविधिको विकाससँगै मोवाइल वालेटका प्रयोगकर्ताहरु दिनदिनै बढ्न थालेका छन् । जसकारण विस्तारै बैंकिङ सेवा मोवाइलतिरै तानीएको छ । मोवाइल वालेटबाट विभिन्न विलिङका लागि समेत सहज भएपछि युवा पुस्ता प्रविधिसँगै अघि बढ्न लागेको छ ।
बैंक हुनुअघिको बस्तु विनीमय
आफूसँग भएको वस्तु दिएर आफूलाई आवश्यक पर्ने वस्तु साटासाट गर्नु नै वस्तु विनिमय हो । मुद्राको उत्पत्ति विकास र प्रयोग हुनुभन्दा पहिले कुनै वस्तु प्राप्त गर्न आफूसँग भएको वस्तुसँग चाहेको वस्तु साट्नुपर्ने चलन थियो । वस्तु–विनिमय गर्दा अनेकौँ किसीमका कठिनाईहरु झेल्नुपर्ने स्थिती थियो । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्थामा आजको युगमा जस्तो किनबेच गर्ने परिपाटि थिएन । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्था आयो भने कुनै अर्को व्यक्तिलाई गहुँ चाहिएको छ, तर उसँग धान मात्रै छ भने, उनिहरुबीच वस्तु विनिमय सम्भव थियो । यस्तो स्थितिमा गहुँ साट्ने व्यक्तिले धान साट्न चाहेको व्यक्ति भेट्टाउन निकै मुस्किल हुन्थ्यो । अर्थात् वस्तु साटासाट हुनका लागि दुवैथरि एक अर्कासँग भएको वस्तु साटासाट गर्न इच्छुक हुनुपर्ने बाध्यता थियो ।
मुद्राको सुरुवात
मुद्रा प्रचलन हुनुअघि कौडीको अभ्यास गरीएको हो । स्थानीय व्यापार विनिमयको साधनको रुपमा मानिसहरु कौडि प्रयोग गरे । विस्तारै मानिसहरुले धातु, सुन, चाँदी, तामा, पित्तललाई विनिमयका सूविधाजनक माध्यम बनाउन थाले । त्यसपछि क्रमिक रुपमा मूद्राको महत्व बढ्न थाल्यो । नेपालमा ईस्वी पाचौं शताब्दीका राजा मानदेवले चलाएको ‘मानाङ्क’ मुद्रा नै सबैभन्दा प्राचिन मुद्रा हो ।
कागजी नोटको सुरुवात
नेपालमा आधुनिक कागजी नोटको प्रचलन राजा त्रिभुवनको पालामा शुरु भयो । कागजी नोटको प्रारम्भसँगै धातुका मुद्राहरु प्रतिस्थापन गर्दै लगियो । नेपाल राष्ट्र बैंकको स्थापनासँगै त्यसताका प्रचलनमा रहेका भारतीय नोटहरुलाई पनि प्रतिस्थापन गर्दै लगियो ।
प्रविधिको विकास
संस्थागत रुपमा बैंकको सुरुवात र निजी क्षेत्रको प्रवेशपछि बैंकिङ क्षेत्रमा प्रविधिको विकास हुन थाल्यो । अब नगदरहित ९क्यासलेश० कारोबारको जमाना आइसकेको छ । चेक, टेलिबैंकिङ, एसएमएस बैंकिङ हुँदै मोबाइल बैंकिङसम्मको सुरुवात भइसकेको छ । बैंक खाता घरमै बसेर अनलाइनमार्फत खोल्ने सुविधा आइसकेको छ । डेबिट, क्रेडिट लगायत विभिन्न कार्डहरुका कारण बैंकिङ समयबाहेकको समयमा पनि कारोबार गर्न सहज बनाएको छ । एउटा बैंकको खातामा भएको पैसा अर्को बैंकको एटीएमबाट झिक्न मिल्ने सुविधा पनि उपलब्ध छ भने एउटा बैंकको खातामा रहेको रकम अर्कै बैंकको शाखामा गएर रकम जम्मा गर्न मिल्ने सुविधा समेत आइसकेको छ ।
चेक
चेक भनेको ग्राहकले आफ्नो खातामा राखेको रकमको माग फाराम हो । ब्यक्ती वा व्यावसायिक संगठनले बैंकमा रहेको आफ्नो खाताबाट निश्चित ब्यक्ती वा संस्थालाई दिन भनी बैंकलाई लेख्ने आदेश वा निर्देशन हो । यस्तो निर्देशन राष्ट्र बैंक ऐन अनुसार तोकिएको ढाँचामा सम्बन्धित बैंकले बनाएको कागजी प्रतीमा हुनु पर्दछ । चेकले खल्तीमा नै नगद बोकेर हिँड्नुपर्ने झन्झटको समाधानको रुपमा काम गर्दछ । ई बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो ।
डेबिट कार्ड
बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम ९अटोमेटेड टेलर मेसिन० बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्न सकिन्छ । कागजी ‘चेक’ जस्तै यसको प्रयोग पनि बैंक खातामा रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ । डेबिट कार्डको उपयोग इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ ।
क्रेडिट कार्ड
क्रेडिट कार्डलाई भुक्तानी कार्डका रुपमा प्रयोग गरिन्छ । ग्राहकले कुनै वस्तु वा सेवा खरिद गरेपछि क्रेडिट कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ’ भन्नेगरि यो कार्ड जारी गरिएको हुन्छ । क्रेडिट कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको रकम बिना ब्याज प्रयोग गर्न पाउँछन् । तर त्यो अवधिभित्र चुक्ता गरेन भने ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ । क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ ।
ई बैंकिङ
ई बैंकिङ भनेको इन्टरनेट मार्फत वेभसाइटको प्रयोग गरेर बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु वेभसाइटको इन्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् ।
मोबाइल बैंकिङ
बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार देशैभरी विस्तार गर्नका लागि मोबाइल प्रविधि अन्तर्गत मोबाइल वा ट्याबलेटबाट नै बैँकिङ कारोबार गर्न सकिनेगरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउँदै आएका छन् जसलाई मोबाइल बैँकिङ भनिन्छ । एप्लीकेशनको माध्यमबाट गरिने कारोबारलाई मोवाइल बैंकिङ भनिन्छ । मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको छ ।
मोबाइल वालेट
मोबाइल वालेट भनेको मोबाइलबाटै कारोबार गर्न सकिने व्यवस्था हो । यो विद्युतीय वालेट सेवा हो । मोवाइल पेमेन्ट सिस्टम अन्तरगत मोवाइल वालेट डिजिटल फाइनान्सको सबैभन्दा लेटेस्ट, विकसीत र सरल प्रविधि हो । यस सेवामा प्रयोगकर्ताले आफ्नै मोबाइल प्रयोग गरी बैङ्क खातामा वा आफ्नै मोबाइल खातामा पैसा जम्मा गर्न, अरूलाई पैसा पठाउन र अरूबाट पैसा प्राप्त गर्नेलगायत कार्य गर्न सक्छन् । यसै वालेटबाट रेमिट्यान्स, स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टीभी विजुलीको बील तथा खानेपानीको वील तिर्न सकिन्छ भने फिल्मको टिकट खरीद गर्न पनि सकिन्छ । त्यसबाहेक जुनसुकै पसलबाट जुनसुकै सामान खरीद गर्न सकिन्छ ।
अपेक्षा ढुंगाना, बैंकिङ खबर
प्रतिकृया दिनुहोस