११ दिनदेखि हराइरहेका कैलारीका युवा अझै फेला परेनन्

युग संवाददाता     145 पटक पढिएको    

११ दिनदेखि हराइरहेका कैलारीका युवा अझै फेला परेनन्

धनगढी  । गत ११ दिनदेखि हराइरहेका कैलालीको कैलारी गाउँपालिका ६ बेनौलीका ३२ वर्षीय वालकृष्ण चौधरी अझै फेला पर्न सकेका छैनन् । गोदावरी नगरपालिका ७ हरैया गाउँमा श्रीमतीतर्फबाट दिदी नातेदार कहाँ गत कार्तिक २७ गते गएका उनी हालसम्म सम्पर्कमा नआएका हुन् ।

हराइरहेका चौधरीका दाजु सत्यनारायण चौधरीका अनुसार उनी कात्तिक २७ गते दिदीका घरमा पुगेका थिए । राति बास बसेका उनी २८ गते विहानै साथीहरू भेट्न जान्छु भनी निस्केका थिए । त्यसपछि दिदीघर समेत नफर्केका उनलाई तीन दिनपछि पनि परिवारको सम्पर्कमा नआएपछि खोजी कार्य गरिएको हो । वेपत्ता चौधरी सुदूरपश्चिम बहुद्देश्यीय सहकारी संस्थामा बजार प्रतिनिधिको रुपमा कार्यरत थिए । सहकारीका कर्मचारीले तीन दिनसम्म कार्यालयको सम्पर्कमा नआएको भन्दै उनको घरमै पुगेपछि परिवारजनले खोजी कार्य अघि बढाएका हुन् ।

हरैयाबाट उनका परिवारजनले उनी चढ्दै आएको मोटरसाइकल, मोटरसाइकलको ब्लुबुक, लाइन्सेन्स, सहकारीको बचत पासबुक फेला पारेका थिए । परिवारजनले मंसिर १ गते खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका छन् । तर प्रहरीले हालसम्म खोजी कार्यमा कुनै चासो नदेखाएको उनका बुवा रामप्रसाद चौधरीले दुखेसो पोखे । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले निर्वाचनको कारण ध्यान पुग्न नसकेको स्वीकार गर्दै खोजी कार्यलाई तीव्रता दिने बताए । बेपत्ता रहेका चौधरीका एक छोरा र श्रीमतीसहित १५ जनाको परिवार छ ।



बिहिबार ०८, मङि्सर २०७९ ०३:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.