कैलाली / आसन्न निर्वाचनको तयारीलाई लक्षित गरी आज कैलालीको सुख्खडमा गरिएको नमूना मतदानमा शतप्रतिशत मत सदर भएको छ । सुख्खडस्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमूना मतदानमा ४२ खसेकामा सबै मत सदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालयको पहलमा भएको नमूना मतदानमा घोडाघाडी नगरपालिकाका प्रमुख खड्क रावत र उपप्रमुख गुलिया कुमारी चौधरीलगायत गाउँघरमा खटिइरहने स्वास्थ्य स्वयंसेविका, पालिकाका कर्मचारीलगायत सहभागी भएका थिए । सो अवसरमा नगरप्रमुख रावतले नमूना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत सङ्ख्या घट्ने बताए ।
निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले यही मङ्सिर ४ गते हुने निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदान सम्बन्धमा जानकारी दिने उद्देश्यले नमूना मतदान गरिएको बताए । जिल्लाका अन्य ठाउँमा पनि नमूना मतदानको तयारी गरिएको छ ।
प्रतिकृया दिनुहोस