राहतको पर्खाइमा पहिरो प्रभावित

युग संवाददाता     632 पटक पढिएको    

राहतको पर्खाइमा पहिरो प्रभावित

बाजुरा / एक सातासम्मको अविरल वर्षापछि गएको पहिरोले बाजुराका धेरै बस्ती नै छिन्नभिन्न भएका छन् । अविरल वर्षाका कारण जिल्लाको हिमाली, जगनाथ, स्वामिकार्तिक गाउँपालिकामा पहिरो जाँदा स्थानीय धेरै प्रभावित भएका छन्। 
बाजुराको तल्लो क्षेत्र भनेर चिनिने त्रिवेणी, बूढीगङ्गा, खप्तड छेडेदह गाउँपालिका लगायतका विभिन्न ठाउँका दर्जनौँ घर भत्किएका छन् । 
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाका अनुसार पहिरोले हिमाली, स्वामिकार्तिक र जगनाथ गाउँपालिकामा धेरै क्षति भएको छ । हिमाली गाउँपालिका र स्वामिकार्तिक गाउँपालिकामा गरेर दुई सय बढी घर परिवार पहिरोको जोखिममा परेका छन् । 
पहिरोले बस्ती नै जोखिममा भएपछि ती परिवार खुला आकाश र विद्यालयमा बसिरहेको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय राज भण्डारीले जानकारी दिए । 
स्वामिकार्तिक गाउँपालिका मुक्तीकोट, फैदा, ठाकुर, जुकोट, जुरु, वाई, साप्पाटा, बाउनी लगायतका ठाउँमा बाढीपहिरोले सबैभन्दा बढी क्षति गरेको छ । स्वामिकार्तिक गाउँपालिकाका वडा नम्बर १, २, ३, ४ का बस्ती बढी जोखिममा छन् । 
हिमाली गाउँपालिका अध्यक्ष भरत रोकायाले गाउँपालिकामा बाढीले ठूलो क्षति गरे पनि त्यसको विवरण आइनसकेको बताए । पहिरोका कारण अहिले एउटा वडाबाट अर्को वडासम्म जानसमेत समस्या भएको छ । 
असोज १८ गतेदेखि २४ गतेसम्म परेको पानीका कारण गएको पहिरोमा परेर बाजुरामा एक जनाको मृत्यु भइसकेको छ । जगनाथ गाउँपालिका वडा नम्बर १ डिमुरका ४० वर्षीय  प्रभुलाल गिरीको पहिरोमा परेर मृत्यु भएको हो । उनकी ७५ वर्षीया आमा घाइते भएकी छन् । 



बिहिबार २७, असोज २०७९ ०८:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal