पाठयक्रममा आधारित शिक्षक क्षमता विकास तालिम सुरु

युग संवाददाता     514 पटक पढिएको    

पाठयक्रममा आधारित शिक्षक क्षमता विकास तालिम सुरु

धनगढी / आधारभूत तह (कक्षा १–३) को एकिकृत ढाँचाको पाठयक्रममा आधारित सात दिने शिक्षक क्षमता विकास तालिम बुधबारदेखि धनगढीमा सुरु भएको छ । 
सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको आयोजनामा सामाजिक विकास मन्त्रालय शिक्षा तालिम केन्द्र दिपायल डोटीको सहकार्य तथा कैलारी गाउँपालिका, पिसविन नेपाल कैलाली (शान्तिदिप) र युनिसेफको संयुक्त सहयोगमा ‘नेपालमा प्रारम्भिक बालशिक्षा र विकासको सवलीकरणका लागि प्रारम्भिक सिकाई तथा विकास मापदण्ड कार्यान्वयन परियोजना’ मार्फत तालिम सञ्चालन भएको हो । तालिमको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या घटने क्रमसँगै विद्यालय समायोजन पनि भइरहेको बताएका छन । शिक्षा क्षेत्रमा कसरी सुधार गर्न सकिन्छ, गम्भीरताका साथ लागि रहेको उनले बताए । 
‘अहिले मुख्य जिम्मेवारी शिक्षकहरुको छ,’ उनले भने, ‘सामुदायिक विद्यालयमा निःशुल्क रुपमा पठनपाठन हुन्छ भन्ने गर्छौ । तर सरकारको लगानी हेर्दा सामुदायिक विद्यालय महगों शिक्षाको रुपमा देखिन्छ ।’  गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी गर्न एकदम जोड दिएको अध्यक्षले बताए । पालिकाभित्र रहेका विद्यालयमा स्थानीय भाषाको कोटा अझै थप्नतिर लागेका उनले बताए । 

कार्यक्रममा कैलारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश प्रसाद मिश्र विद्यार्थीको भविष्य उज्यालो तर्फ लैजाने जिम्मेवारी शिक्षकको हात रहने बताए । उनले भने,‘विद्यालय जाने साना बालबालिकालाई शिक्षकले जे भने उही सिक्ने भएकोले बाल विकास (इसिडी) र कक्षा १ मा बढी ध्यान दिनुपर्छ ।’

एकीकृत ढाँचाको पाठयक्रममा आधारित शिक्षक क्षमता विकास तालिम संचालनको उद्देश्यबारे सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका कटक सिजापतिले जानकारी दिएका थिए । उनले यो तालिम आधारभूत तह कक्षा १–३ को पाठयक्रमको आधारणबारे जानकारी गराउन, विषयगत सक्षमता र सिकाई उपलब्धीबारे स्पष्ट गराउन, विषय क्षेत्र अनुसार एकीकृत रुपमा शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न सक्षम बनाउन, विद्यार्यी सिकाई लेखाजोखा प्रणालीबारे बुझाई प्रष्ट गर्न, विद्यार्थी केन्द्रित शिक्षण विधि तथा शैक्षिक सामाग्री निर्माण र प्रयोगबारे क्षमता विकास गर्न तालिमको आयोजना गरेको बताए ।

तालिम उदघाटन कार्यक्रम पिसविन नेपाल कैलालीका कार्यसमिति सदस्य हर्कबहादुर ओलीको अध्यक्षतामा भएको थियो । संचालन पिसविन नेपाल कैलालीका जिल्ला परियोजना संयोजक शान्ति मगर र स्वागत मन्तव्य पिसविन नेपाल कैलालीका तालिम अधिकृत जानकी सिंहले गरेका थिए । कैलारी गाउँपालिकाका ४४ वटा विद्यालयका शिक्षक, शिक्षिकाहरुको सहभागिता भइरहेको एक हप्ते तालिममा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका तालिम अधिकृत रमा थपलिया र कटक सिजापतिले प्रशिक्षण दिइरहेका छन भने सहजीकरण पिसविन नेपाल कैलालीका जिल्ला परियोजना संयोजक शान्ति मगरले गरि रहेका छन ।



बुधबार २६, असोज २०७९ १२:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.