गठबन्धनमा जसपा असन्तुष्ट

युग संवाददाता     98 पटक पढिएको    

गठबन्धनमा जसपा असन्तुष्ट

काठमाडौं / पाँच दलीय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी नेपाल सिट बाँडफाँटमा असन्तुष्ट बनेको छ । गठबन्धनमा केही क्षेत्रमा भएको सिट बाँडफाँटको समाचार बाहिर आएपछि जसपाका नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयंले बिहीबार धनुषामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘गठबन्धनमा मधेसी, आदिवासी जनजातिको सम्मानजनक सम्बोधन गरिएन भने जसपा एक्लै पनि चुनाव लड्न सक्षम छ ।’

चुनावमा कुनै पनि दलको वैशाखीको आवश्यकता जसपालाई नरहेको उनले बताएका थिए । उनले यसो भनेपछि जसपाका अन्य नेताहरुले पनि जसपा एक्लै चुनाव लड्न सक्षम रहेको अभिव्यक्ति दिन थालेका छन् । गठबन्धन निर्माणमै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जसपाले यसअघि पनि बारम्बार गठबन्धन छाड्ने चेतावनी दिएको थियो । अध्यक्ष यादवले केही अघि वीरगञ्ज पुगेर गठबन्धनबाट जसपाबाट बाहिर निस्कन सकिने धारणा राखेका थिए ।

गठबन्धनमा कुरा नमिलेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक कार्यक्रमबाटै आफ्नो असन्तुष्टि व्यक्त गर्दै आएका छन् । जसपाले मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ कम्तीमा १५ वटा सिटको माग गरेको छ जबकि गठबन्धनका अन्य दलहरुले १०–११ वटा सिट मात्र दिन चाहेका छन् । गठबन्धनले देशभरमा जसपालाई १५ सिट दिन चाहेको छ ।

गठबन्धनबाट गठित कार्यदलको सदस्य समेत रहेका जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले गठबन्धनमा सम्मानजनक व्यवहार नभए त्यहाँ बस्नुको कुनै अर्थ नरहने बताए । ‘तर अहिलेसम्म छलफलहरु सकारात्मक अवस्थामै अगाडि बढी रहेको छ,’ रातोपाटीसँग उनले भने, ‘जसपाको जुन स्ट्रेन्थ छ, त्यो अनुसार आफ्नो भाग खोजेको हो, यदि दबाएर, हेपेर केही दिएजस्तो गर्न थालियो भने हामी एक्लै पनि चुनाव लड्न सक्षम छौं ।’ यद्यपि आफूहरु त्यो अवस्था नआओस् भन्ने पक्षमा रहेको उनले बताए ।

‘गठबन्धन बनाउन अरु दलभन्दा बढी मेहनत जसपाको छ, गठबन्धन बनाउनकै लागि जसपा विभाजन पनि भएको थियो,’ उनले भने, ‘गठबन्धनप्रति अरु दलभन्दा बढी माया जसपाको छ, त्यसैले जसपा हत्तपत्त गठबन्धन छाड्दैन । यदि घरबाट जबर्जस्ती निकाल्न खोज्यो भने अर्को घर खोज्न बाध्य हुन्छौं ।’



शुक्रबार १४, असोज २०७९ १२:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.