हुम्लामा प्राधिकरणबाटै म्याद गुज्रिएको चिम वितरण

युग संवाददाता     139 पटक पढिएको    

हुम्लामा प्राधिकरणबाटै म्याद गुज्रिएको चिम वितरण

हुम्ला,  नेपाल विद्युत् प्राधिकरणको हिल्दुम वितरण केन्द्रले म्याद गुज्रिएको सीएफएल चिम वितरण गरिरहेको खुलेको छ । प्राधिरकरणकै लोगो रहेको ‘यो चिमले काम नगरे डिसेम्बर २०१४ मा प्रतिस्थापन गरिने छ’ भनी लेखिएको सीफएल चिम अहिले बल्ल वितरण भइरहेको हो ।

प्राधिकरणले कर्णाली प्रादेशिक कार्यालय हुँदै हुम्लाको लागि ४ हजार थान सीएफएल चिम पठाएको थियो । जसमध्ये अहिलेसम्म १ हजार ७२ थान चिम वितरण भइसकेको हिल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए । उनका अनुसार विद्युत्का ग्राहकबाट समयमा विद्युत् महसुल असुलीमा सहयोग पुर्‍याउन र विद्युत् खपत कम गर्न सीएफएल चिम वितरण गर्न थालिएको हो । उनले उक्त चिम निःशुल्क वितरण भइरहेको बताए ।

‘चिमको कभरमा यो चिमले काम नगरे डिसेम्बर २०१४ मा प्रतिस्थापन गरिने छ भनेर लेखेको देख्दादेख्दै किन पठाइयो हामीलार्ई पनि थाहा छैन,’ उनले भने, ‘प्राधिकरणको केन्द्रीय कार्यालयको निर्देशनअनुसार चिम वितरण गरिएको हो, अरु कुरा जानकारी भएन ।’ यो केन्द्रअन्तर्गत झण्डै २ हजार ग्राहक छन् । केन्द्रले महसुल तिर्न आएका ग्राहकलाई उनीहरूका घरमा कति चिम प्रयोग हुन्छ, सोहीअनुसार वितरण गरिरहेको छ ।

प्राधिकरणले ग्राहकले समयमै महसुल तिरुन् भन्ने उद्देश्यले यो नीति लिए पनि अहिले कम विद्युत् खपत हुने १ र २ वाटका एलईडी चिमको प्रयोग अधिक रहेको उनको भनाइ छ । ८ वर्ष पहिले नै म्याद गुज्रिएको चिम दिनुको साटो विद्युत् कम खपत हुने आधुनिक प्रविधिका चिम वितरण गरेको भए ग्राहकलाई सुविधा हुने स्थानीय सरोज रावतले बताए ।

‘हुम्ली भनेर हामीलाई झन् हेप्ने काम भयो, ८० वटा कार्टुनमा सीएफएल चिम पठाइएको भनेर सुनेका थियौं,’ उनले भने, ‘हामीलाई महँगो हवाइ भाडा तिरेर निःशुल्क चिम वितरण गर्नुभन्दा नियमित विद्युत् वितरण गरिदिए राम्रो हुन्थ्यो ।’



सोमबार १०, असोज २०७९ ०३:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.