बैतडीमा पनि विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

युग संवाददाता     174 पटक पढिएको    

बैतडीमा पनि विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी / बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस्  हुन थालेपछि पठनपाठन प्रभावित भएको हो ।

विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस् हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले जानकारी दिए । गत हप्तादेखि छात्रामा यो समस्या देखिएको जनाइएको छ। उनले भने,“दैनिक चार/पाँच छात्रामा यो समस्या देखिने गरेको छ । कक्षा ५ देखि १० कक्षामुनिका छात्रामा बढीजसो यो लक्षण देखिएको छ । १२ देखि १४ उमेर समूहमा छात्रामा बढी समस्या छ ।” 

विद्यार्थीमा दैनिक बेहोस् हुने समस्या देखिन थालेपछि पठनपाठनकार्य प्रभावित भएको प्रअ बागको भनाइ छ ।  बिद्यालयमा एक र दुई घण्टी पढेपछि उनीहरूमा यो समस्या सुरु हुन्छ । एक छात्रालाई यो समस्या देखिएलगत्तै अरु छात्रामा पनि लगत्तै देखिन्छ । 

छात्रामा देखिएको यो समस्याको बारेमा स्वास्थ्यकर्मी पनि सोधेको उनले बताए । “हामीले स्वास्थ्यकर्मीलाई पनि समस्याको बारेमा जानकारी गरायौँ । स्वास्थ्यकर्मीकै सल्लाहअनुसार दुई पिरियड मात्रै पठनपाठन गरेर बाँकी समय मनोरञ्जनमा जोड दिएका छौँ,” उनले भने । 

छात्रामा देखिएको यो समस्या मास हिस्टेरिया रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले थपे,“यो सामान्य खालको  बिरामीको लक्षण हुन् । उनीहरुमा भावना उत्पन्न भएर एकबाट अर्कोमा हुने गर्दछ । मनोपरामर्शलाई जोड दिनुपर्छ, सान्तना दिने, मनोबल बढाउने खालका कुरा गर्ने सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिन खालका कार्यक्रम गर्नुपर्छ।” उक्त विद्यालयमा एक हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

यस अघि दार्चुला, बझाङमा पनि सो समस्या देखा परेको थियो ।  बझाङको बित्थडचिर गाउँपालिका–१ स्थित श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिसकेको छ । 



बुधबार २५, साउन २०७९ ०७:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.