दार्चुलामा थपिए डेढ हजार बढी मतदाता

युग संवाददाता     171 पटक पढिएको    

दार्चुलामा थपिए डेढ हजार बढी मतदाता

दार्चुला / स्थानीय तह निर्वाचनभन्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एक हजार ६६४ जना मतदाता थपिएका छन् । जिल्लामा निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट फोटोसहितको थप मतदाता नामावली संकलन गरिएको हो ।

गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा डेढ हजार बढी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाभरि ८८ हजार २८५ जना मतदाता रहेका थिए । अहिले थपिएर ८९ हजार ९४९ मतदाता पुगेको जिल्ला निर्वाचन अधिकृत प्रदिपसिंह धामीले जानकारी दिए ।

जिल्ला निर्वाचन अधिकारी धामीका अनुसार जिल्ला प्रशासन कार्यालयबाट एक हजार ३९ जना तथा जिल्ला निर्वाचन कार्यालयमा ६ सय २५ जना नयाँ मतदाता थपिएका छन् । बाहिर जिल्लाका एक सय ६ जनाले नाम दर्ता गराएको उनले बताए । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा निर्वाचन घोषणा गरेसंँगै मतदाता नामावली संकलन कार्य २० गतेदेखि स्थगन गरिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

दुई मतदानस्थल थप्न सिफारिस

आगामी संघीय र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदान स्थल थप गर्न सिफारिस गरेको हो । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकले अपिहिमाल गाउँपालिका–३ को सुर्मा भवानी आधारभूत विद्यालय थुम्ती र लेकम गाउँपालिका–४ को तमैराज आधारभूत विद्यालय झलातीमा केन्द्र थप गर्न सिफारिस गरिएको हो ।

जिल्लाभरि चार मतदानस्थल थप गर्न निवेदन आएको भए पनि प्रक्रिया नमिल्दा दुई मात्र थपका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए । यसका लागि सिफारिस गरिएको मतदानस्थलसंँगै जिल्लामा एक सय १२ मतदानस्थल हुनेछन् ।



बुधबार २५, साउन २०७९ ०९:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.