सुदूरपश्चिममा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बर्सेनि बढ्दै

युग संवाददाता     162 पटक पढिएको    

सुदूरपश्चिममा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बर्सेनि बढ्दै

डोटी /  सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या बर्सेनि बढ्दै गरेको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार विगत तीन वर्षमा सवारी दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या ४६८ रहेको छ । दुर्घटनामा मृत्यु हुनेहरूमध्ये सवारी ज्यानमा ३८० र सवारीबाट भवितव्यमा परि ज्यान गुमाउने ८८ रहेका छन् ।

गत आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा परि १८२ जनाको मृत्यु भएको छ ।  कैलालीमा मात्रै एक वर्षमा ६९ जनाको मृत्यु भएको छ । यस्तै, कञ्चनपुरमा २४, डोटीमा १०, बझाङ र अछाममा आठरआठ जनाको मृत्यु भएको छ ।

बैतडीमा ६, बाजुरामा पाँच, डडेल्धुरामा चार र दार्चुलामा तीन जनाको सवारी साधन दुर्घटनामा परि मृत्यु भएको प्रदेश प्रहरी कार्यालयको तठ्ठ्याङ्कमा उल्लेख छ ।गत आर्थिक वर्षमा कैलालीमा १६, कञ्चनपुरमा १३, बैतडीमा ६ र बझाङमा चार जनाको सवारीबाट भवितव्यमा परि मृत्यु भएको थियो ।

सवारीबाट भवितव्यमा परि मृत्यु हुनेहरूमा डोटीमा तीन, अछाम, डडेल्धुरा र दार्चुलामा एकरएक जना पनि रहेका छन् । गत आर्थिक वर्षमा बाजुरामा भने सवारीबाट भवितव्यमा परि कसैले ज्यान गुमाउनु परेको छैन ।

आर्थिक वर्ष ०७७/०७८ मा सवारी ज्यानमा १२५ र सवारीबाट भवितव्यमा परि २३ गरि १४८ को मृत्यु भएको छ। ०७७/०७८ भन्दा ०७८/०७९ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्यामा करिब १९ प्रतिशतले वृद्धि भएको देखिएको छ । आर्थिक वर्ष ०७६/०७७ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या १३८ रहेको थियो । सो अवधिमा सवारी ज्यानमा परि ११८ र सवारीमा भवितव्यमा परि २० जनाको मृत्यु भएको तथ्याङ्क छ । ०७६/०७७ भन्दा ०७७/०७८ मा करिब ७ प्रतिशत बढीको मृत्यु भएको थियो ।

सवारी दुर्घटना बढ्नुमा मुख्य कारण चालकको लापरबाही देखिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोला भट्ट बताउँछन् । उनले सुदूरपश्चिममा बाटोको अवस्थाका कारण पनि सवारी दुर्घटना हुने गरेको बताए । साँघुरो बाटो, साना मोडहरू पनि दुर्घटना बढ्नुको कारण भएको प्रहरी नायब उपरीक्षक भट्ट बताउँछन्। क्षमताभन्दा बढी यात्रु बोक्नु, सवारीको अवस्था राम्रो नहुनु र यात्रुहरूले पनि सवारी नियमको पालना नगर्नुले पनि सवारी दुर्घटना हुने गरेको भट्टको बुझाय ।



मङ्गलबार २४, साउन २०७९ १०:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.