अवैध काठ लुकाएको पाइएपछि एक जना काठ व्यवसायी पक्राउ

युग संवाददाता     197 पटक पढिएको    

अवैध काठ लुकाएको पाइएपछि एक जना काठ व्यवसायी पक्राउ

धनगढी /  आफ्नो खेतमा अवैध काठ लुकाएको पाइएपछि एक जना काठ व्यवसायी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–६, जालीका करन चौधरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ । स्थानीयको सूचनाका आधारमा गएको वनको टोलीले उनको खेतमा माटोमुनि लुकाएर राखेको अवस्थामा मंगलबार काठ बरामद गरेको थियो । 
८७ इन्च गोलाइ भएको २० फिट लामो सालको रुख ढलाएर जमिनमुनि माटोले पुरेर लुकाएको अवस्थामा काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय तारानगरका प्रमुख जिसन कार्कीले बताए । जेसीबीले खनेर जमिनमुनिबाट काठ बरामद गरिएको उनले बताए । चौधरीले उक्त काठ आफूले पुरेको स्वीकार गरेका सव डिभिजनले जनाएको छ । काठ लुकाइएको स्थान पुगेको वनको टोलीसँगै जाली सामुदायिक वनका पदाधिकारी, स्थानीयसामु चौधरीले आफूले काठ पुरेको स्वीकारेका थिए । 
काठ बरामद गरिएपछि चौधरीलाई पक्राउ गरेर कारबाही प्रकृया अगाडि बढाइएको डिभिजन वन कार्यालय धनगढीका निमित्त प्रमुख पूर्णशंकर यादवले बताए । जालीका स्थानीयले भने काठ लुकाएको अरु क्षेत्रमा वनको टोलीले उत्खनन् नगरेको आरोप लगाएका छन् । 
‘चौधरीले भरान गर्ने नाममा आफ्नो खेतमा माटोका ठूलाठूला ढिस्का बनाएका छन् । त्योभित्र ठूलो परिणाममा काठ लुकाइएको छ ।’ नाम उल्लेख गर्न नचाहेका एक जना स्थानीयले भने, ‘तर त्यहाँ वनको टोलीले जेसीबीले माटो उधिनेर हेरेन ।’ स्थानीय र जनप्रतिनिधिको दवावपछि पुगेको वनको टोलीले औपचारिकताका लागि एक गोलिया काठमात्रै लिएर फर्केको आरोप लागेको छ । ‘माटोभित्र पनि सालका ठूलठूला गोलिया लुकाइएका छन् । 
चौधरीले नजिकै रहेको आफ्नो होटेलको पछाडि पनि काठ लुकाएर राखेको वनका कर्मचारीलाई समेत थाहा छ ।’ अर्का स्थानीयले भने, ‘तर वनका कर्मचारीले ती ठाउँमा हेरेनन् ।’ वन कर्मचारी र सामुदायिक वनका पदाधिकारीसँगको मिलेमतोमा चौधरीले काठ तस्करी गर्दै आएका स्थानीयको आरोप छ । पक्राउ परेका चौधरीले धनगढीको हसनपुरमा काठ उद्योग सञ्चालन गर्दै आएका छन् ।



मङ्गलबार १७, साउन २०७९ ०९:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.