मुग्लिन–नारायणगढ सडक अझै खुलेन

युग संवाददाता     190 पटक पढिएको    

मुग्लिन–नारायणगढ सडक अझै खुलेन

काठमाण्डौं / पहिरोका कारण गए राति ११ बजेदेखि बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड अझै खुलेको छैन । पहिरो पन्छाउने काम भइरहे पनि आज बेलुकीअघि सडक खुलाउन सकिने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता नरहरि अधिकारीले बताए । 

भरतपुर महानगरपालिकाको १७ किलो र इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा खसेको पहिरो पन्छाइएको छ । भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारी र मुग्लिन नजिक घोप्टेखोलाको पहिरो पन्छाउन बाँकी रहेको डीएसपी अधिकारीले बताए । 

गए रातिदेखि नै सडक बन्द भएकाले यो सडक खण्डमा गाडीको लामो लाइन छ । रातिदेखि नै रोकिएका यात्रुहरू भोक, तिर्खा र गर्मी सहेर बस्न बाध्य छन् ।

यस्तै नौबिसे–मुग्लिन सडक खण्डमा पनि ठाउँ–ठाउँमा पहिरो गएको छ । पहिरोका कारण सडक बन्द भएकाले यो सडक हुँदै चल्ने गाडीलाई बिहानैदेखि नाका–नाकामा रोकिएको छ । काठमाण्डौदेखि छुट्ने गाडी नागढुङ्गा, थानकोट, कलङ्कीलगायत ठाउँमा रोकेर राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पहिरो नहटेसम्म यो सडक खण्डको यात्रामा ननिस्कन पनि महाशाखाले आग्रह गरेको छ । 



मङ्गलबार १७, साउन २०७९ ०९:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.