सुदूरपश्चिम प्रदेशमा आर्थिक परिसूचकमा थोरै सुधार

युग संवाददाता     234 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशमा आर्थिक परिसूचकमा थोरै सुधार

धनगढी / बहुआयामिक गरिबी बढी रहेको सुदूरपश्चिम प्रदेशमा आर्थिक परिसूचकमा थोरै सुधार भएको छ ।आर्थिक वर्ष २०७८/७९ मा प्रदेशको आर्थिक परिसूचकमा सामान्य सुधार भएको देखिएको हो ।

गत आर्थिक वर्षमा यो प्रदेशको बहुआयामिक गरिबी ३३.५६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा प्रदेशको बहुआयामिक गरिबी प्रतिशत ३३.६० रहेको थियो । गत आर्थिक वर्षमा बहुआयामिक गरिबी ०.४ प्रतिशतले घटेको छ । यो प्रदेशको बहुआयामिक गरिबी भने राष्ट्रिय बहुआयामिक गरिबीभन्दा बढी छ ।

आर्थिक वर्ष २०७८/७९ मा सुदूरपश्चिमको कुल गार्हस्थ उत्पादन वृद्धिदर ४.९३ प्रतिशत रहेको छ । जुन, आर्थिक वर्ष २०७७/७८ को तुलनामा थोरै बढी हो । यो आर्थिक वर्ष कुल गार्हस्थ उत्पादन वृद्धिदर ४.२४ रहेको थियो । आर्थिक वर्ष २०७८/७९ मा ०.६९ प्रतिशतले कुल गार्हस्थ उत्पादन वृद्धिदर बढेको छ । यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा कुल गार्हस्थ उत्पादन वृद्धिदर २ प्रतिशत रहेको थियो ।

यो प्रदेशको कुल गार्हस्थ उत्पादन वृद्धिदरमा कृषि क्षेत्रको योगदान ३३.८४ प्रतिशत रहेको छ । जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा थोरै कम हो । आर्थिक वर्ष २०७७÷७८ मा कृषि क्षेत्रको योगदान ३६.१ प्रतिशत रहेको थियो । कात्तिकमा आएको बाढीले धानबालीमा बढी नोक्सान गरेको थियो । जसले गर्दा आर्थिक वर्ष २०७८/७९ मा कृषि क्षेत्रको योगदान थोरै घटेको छ । यसैगरी, उद्योग क्षेत्रको १४.३१ प्रतिशत र सेवा क्षेत्रको ५१.७४ प्रतिशत योगदान रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा उद्योग र सेवा क्षेत्रको योगदान बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ उत्पादनमा उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः १३.२ प्रतिशत र ५०.७ प्रतिशत रहेको थियो । 

आर्थिक वर्ष २०७८/७९ मा सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय एक हजार ३१ अमेरिकी डलर पुगेको छ । जबकी आर्थिक वर्ष २०७७/७८ मा यो प्रदेशको प्रतिव्यक्ति आय ७९९ अमेरिकी डलर रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ सुदूरपश्चिमको कुल गार्हस्थ उत्पादन तीन खर्ब ३८ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो । राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा यो प्रदेशको योगदान ७ प्रतिशत रहेको छ । यसअघि, आर्थिक वर्ष २०७७/७८ मा पनि राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा सुदूरपश्चिमको योगदान ७ प्रतिशत नै रहेको थियो ।

बझाङको साइपाल गाउँपालिकाबाहेक यो प्रदेशको बाँकी सबै ८७ स्थानीय तहमा बैङ्क तथा वित्तीय संस्थाको पहुँच पुगेको छ । सुदूरपश्चिममा सक्रिय जनशक्तिको बेरोजगारी प्रतिशत ११.५ रहेको छ । जुन राष्ट्रिय औसत बराबर रहेको छ । गत फागुन मसान्तसम्म यो प्रदेशमा ७१.०७ प्रतिशत जनसङ्ख्या विद्युतको पहुँचमा आएको छ । जुन राष्ट्रिय औसतभन्दा २२.९३ प्रतिशतले कमी रहेको जनाइएको छ । यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा प्रदेशमा उद्योग दर्ता सङ्ख्या १३० पुगेको छ ।

अघिल्लो आर्थिक वर्षसम्म यो सङ्ख्या ११६ रहेको थियो । यो प्रदेशमा लघु तथा साना घरेलु उद्योगको सङ्ख्या ४१ हजार ४५८ पुगेको छ । सुदूरपश्चिम प्रदेशभरि उद्योग क्षेत्रमा लगानी ४७ अर्ब २० करोड रुपैयाँ बराबरको भएको जनाइएको छ । गत फागुनसम्म उद्योगबाट एक लाख ९५ हजार ३१७ जनालाई रोजगारी सृजना भएको प्रदेश सरकारको बजेट वक्तव्यमा उल्लेख छ । 
गत आर्थिक वर्षको आठ महिनासम्म प्रदेशको ८८ वटै स्थानीय तहमा पाँच हजार ४७५ किलोमिटर सडक निर्माण भएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशमा चालू वर्षमा प्रमुख बालीमध्ये धान चार लाख ४१ हजार मेट्रिक टन, मकै एक लाख ३६ हजार मेट्रिक टन, गहुँ तीन लाख ७१ हजार मेट्रिक टन, कोदो २३ हजार मेट्रिक टन र जौ सात हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको बजेट वक्तव्यमा भनिएको छ । 
सामाजिक परिसूचक 
विगतको तुलनामा सुदूरपश्चिम प्रदेशको आर्थिक परिसूचकमा सामान्य सुधार भए पनि सामाजिक परिसूचकमा भने खासै परिवर्तन आएको छैन । अशिक्षा, गरिबी र विभिन्न प्रथा तथा कुरीति बढी रहेका कारण सामाजिक परिसूचकमा सुधार आउन नसकेको हो । नेपाल मानव विकास प्रतिवेदन २०२० अनुसार सुदूरपश्चिमको मानव विकास सूचकाङ्क ०.४३१ रहेको छ । यसैगरी, लैङ्गिक विकास सूचकाङ्क ०.९०३ र लैङ्गिक असमानताको सूचक ०.५२२ रहेको छ । 



शनिबार ०७, साउन २०७९ ११:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.