मदिरा बेच्ने र सेवन गर्नेलाई वडाले ढुंगा बोकाउने

युग संवाददाता     212 पटक पढिएको    

मदिरा बेच्ने र सेवन गर्नेलाई वडाले ढुंगा बोकाउने

डोटी / डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ६ र ७ ले वडाभित्र मदिराको बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाएका छन् । मदिरा सेवनले परिवारभित्र कलह र समाजमा झैझगडा उत्पन्न भएको भन्दै ती वडाले मदिरा बेचबिखनमा प्रतिबन्ध लगाएका हुन् ।

वडा नम्बर ७ का अध्यक्ष दिलबहादुर बलायरका अनुसार गत जेठ १२ गते बसेको वडा कार्यपालिका बैठकले मदिरा सेवन गर्ने र बेच्नेलाई कारबाहीसहितको यस्तो निर्णय गरेको हो ।

विभिन्न दण्ड सजाय गर्दा बेचबिखन नरोकिएको उल्लेख गर्दै समाजमै उनीहरूलाई सार्वजनिक गरेपछि नियन्त्रण हुने उनको विश्वास छ । मदिरा बेच्ने र खानेलाई कारबाहीस्वरूप ढुंगा बोकाइने पनि उनी बताउँछन् । वडाका ३४ जना व्यापारीसँगको सल्लाहमै निर्णय गरिएको उनले बताए ।

त्यस्तै डोटीकै आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । गाउँपालिकाका अध्यक्ष गणेश खड्काले मदिरा ओसारपसार गर्नेलाई ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई ३० हजार जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए ।यसैगरी मदिरा सेवन गर्नेलाई पहिलोपटक २ हजार ५०० र दोस्रो पटक सेवन गर्नेलाई ५ हजार जरिवाना तोक्ने निर्णय गरिएको छ ।



बिहिबार ०५, साउन २०७९ ०६:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.