कैलालीका बाढीपीडित किसानलाई राहत रकम हस्तान्तरण सुरु

युग संवाददाता     381 पटक पढिएको    

कैलालीका बाढीपीडित किसानलाई राहत रकम हस्तान्तरण सुरु

धनगढी / गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ ।गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरुप राहत रकम पाइरहेका छन् ।

प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण सुरु गरेको छ । तयारी धानबाली भित्र्याउने बेला गत वर्ष असोज ३१ देखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले पीडित बनेका किसानलाई क्षतिको आधारमा राहत रकम दिन सुरु भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले बताए ।

“भजनीमा १० हजार किसानको धानबाली नोक्सानी भएको छ । किसानलाई क्षतिका आधारमा राहत दिन थालिएको छ”, उनले भनिन्, “क्षतिका आधारमा प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा रु ३१५, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई रु १२५, र ६० कट्ठाभन्दा माथि क्षति भएका किसानलाई रु ७५ प्रति कट्ठा रकम वितरण थालिएको छ ।”

एक किसानलाई रु ५५ हजारभन्दा बढी नहुने गरी राहत रकम उपलब्ध गराइरहेको नगरपालिकाले जनाएको छ । ‘‘मापदण्डअनुसार दिन थालिएको छ । यो राहत रकम हो”, चौधरीले भनिन्, “किसानलाई यो रकमले खेती गर्ने समयमा थोरै राहत हुन्छ ।”

राहतको लागि भजनी नगरपालिकामा प्रदेश सरकारबाट रु दुई करोड ९२ लाख आएको छ । राहत रकम किसानलाई बैंकमार्फत वितरण थालिएको छ । वडा नं १ देखि ९ सम्मका पीडित सबै किसानलाई पायक पर्ने बंैकमा खाता खुलाइ बैंकमार्फत वितरण भइरहेको छ । नगरपालिकाले अहिलेसम्म रु एक करोड ४० लाख किसानको खातामा पठाइसकेको र असार २० गतेसम्म पीडित सूचीकृत सबै किसानको खातामा रकम पठाई सक्ने गरी काम गरिरहेको छ । 

यस्तै टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा पनि वितरण प्रक्रिया थालिएको छ । टीकापुरमा अहिले पीडित किसानलाई राहत रकम हस्तान्तरणका लागि बैंकमा खाता खोल्ने काम भइरहेको टीकापुर नगरपालिका कृषि शाखा प्रमुख मोतीसिंह विकले बताइन् । “प्रदेश सरकारबाट रकम आएको छ । हरेक वडाका नागरिकको एउटै बैंकमा खाता खोलेमा पठाउन सहज हुने भएकाले खाता खोल्न लगाइरहेका छौँ”, विकले भनिन् ।



शनिबार १८, असार २०७९ १०:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.