आफ्ना मन्त्रीलाई सरकार छाड्न माओवादीको निर्देशन

युग संवाददाता     1054 पटक पढिएको    

आफ्ना मन्त्रीलाई सरकार छाड्न माओवादीको निर्देशन

 

रासस,

काठमाडौँ   फाल्गुण २९ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार छाड्न आफ्ना मन्त्रीलाई निर्देशन दिएको छ। पार्टी मुख्यालय पेरिस डाँडामा आज बसेको स्थायी समिति बैठकले पार्टीका तर्फबाट वर्तमान सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको हो।


नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी  नेकपा  लाई बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै दुई पार्टी अलगअलग भएका छन्। माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र दावा लामा सरकारमा सहभागी भएका छन्। सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै त्यसमा असहमति जनाउँदै माओवादी केन्द्रका केही मन्त्रीले त्यति बेलै सरकार छाडेका थिए। 


बैठकले एमालेको कमिटीमा राखिएका सङ्घीय सांसद तथा प्रदेशसभा सदस्यलाई २४ घण्टाभित्र आफ्नो स्थिति प्रस्ट पार्न पत्र लेख्ने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। बैठकले आगामी चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णयसमेत गरेको छ। बदलिँदो  राजनीतिक परिस्थितिबारे छलफल गर्न आइतबार माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै छ।



शनिबार २९, फागुन २०७७ ०१:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.