दाहाल–नेपाल समूहद्वारा नेकपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई कारबाही

युग संवाददाता     1002 पटक पढिएको    

दाहाल–नेपाल समूहद्वारा नेकपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई कारबाही

 


धनगढी – नेकपा दाहाल–नेपाल समूहको सुदूरपश्चिम प्रदेश कमिटी बैठकले ओली समूहमा लागेका प्रदेश अध्यक्ष कर्ण थापासहित ४ जिल्लाका अध्यक्षलाई कारबाही गर्ने निर्णय गरेको छ।

शुक्रबार धनगढीमा बसेको नेकपा प्रदेश कमिटीको चौथो बैठकले पार्टी विधान विपरित काम गरेको भन्दै ओली समूहमा लागेका प्रदेश अध्यक्ष कर्ण थापा, कैलाली अध्यक्ष रतन थापा, कञ्चनपुर अध्यक्ष बिरबहादुर थापा, बैतडीका अध्यक्ष शुरेन्द्र पाल र बाजुरा जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाहीलाई कारबाही गर्ने निर्णय गरेको हो। बैठकले उनीहरुलाई कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस समेत गरेको छ।

यसैगरी केपी ओलीले गरेको संघीय संसद विघटनका विरुद्ध थप आन्दोलन गर्ने र सबै नेता कार्यकर्तालाई समेटेर एकजुट हुने निर्णसमेत गरिएको नेकपा सुदूरपश्चिम कमिटीले जनाएको छ।


कारबाही गरिएका प्रदेश अध्यक्ष तथा जिल्ला कमिटी अध्यक्षको ठाउँमा कसलाई ल्याउने भन्ने विषयमा भने छलफल भइरहेको जनाइएको छ। बैठक नेकपा सुदूरपश्चिम प्रदेश कमिटीका सचिव नेपबहादुर चौधरीको अध्यक्षतामा बसेको थियो।

बैठकमा प्रदेश इन्चार्ज भीम रावल, सह–इन्चार्ज भानुभक्त जोशी, खगराज भट्ट, लक्ष्मण जोशी लगायत केन्द्रीय कमिटी सदस्यको उपस्थिति रहेको थियो। बैठकले गरेका निर्णयको पूर्ण जानकारी  पत्रकार सम्मेलनमार्फत गराइने सह–इन्चार्ज भानुभक्त जोशीले बताए।

ओली समूहले यसअघि नै दाहाल–नेपाल समूहका लागेका प्रदेश ईन्चार्ज भीम रावललाई कारबाही गरी लेखराज भट्टलाई प्रदेश संयोजक बनाएको थियो।



शनिबार १८, पुष २०७७ ०५:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal