किन १३ घण्टाको यात्रा लगातार गर्न नसकी बीचैमा ट्रान्जिट पार्नुपर्‍यो

Yugnepal     889 पटक पढिएको    

किन १३ घण्टाको यात्रा लगातार गर्न नसकी बीचैमा ट्रान्जिट पार्नुपर्‍यो

काठमाडौं। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले बुधबार २६४ अस्ट्रेलियन यात्रुलाई काठमाडौं–क्वालालाम्पुर हुँदै अस्ट्रेलिया लगेको छ। अष्ट्रेलिया र न्यूजिल्याण्डबाट नेपाली यात्रु लिएर उक्त जहाज फर्कि पनि सकेको छ। निगमले वाइडबडी जहाज खरिद गर्दा १३ घन्टा लगातार उड्न सक्ने दाबी गरेको थियो। वाइडबडी खरिद गर्दा जे जे दाबी गरिएको थियो, त्यो अनुसारको क्षमता भने अष्टेलियाको यो यात्रामा देखिएन। र, वाइडबडी खरिद प्रक्रियाका एक एक अनियमितता फेरि खुल्न थालेका छन्।

सार्वजनिक लेखासमितिको बैठकमा निगमका तत्कालीन प्रबन्ध संचालक सुगतरत्न कंसाकारले काठमाडौंबाट सिधै अस्ट्रेलियाको सिड्नीसम्म विना ट्रान्जिट सिधै उडान गर्नसक्ने दाबी गरेका थिए। तर बुधबार अस्ट्रेलियाको लागि चार्टर फ्लाइटका लागि बुक गरिएको निगमको वाइडबडी जहाजको मलेसियामा ट्रान्जिट बनाई अष्ट्रेलिया गएको थियो। मलेसिया ट्रान्जिटमा फ्यूल भरिएको बताइएको छ।

वाइडबडी जहाज खरिद गर्दा कंसाकारले भनेजस्तो उक्त जहाज लगातार १३ घन्टासम्म उडान गर्न नमिल्ने यो यात्राले पुष्टी गरेको छ। निगमको इतिहासमा यो लामो मध्यको एक यात्रा थियो। तर यो यात्रा एकैपटक गन्तव्यमा पुग्ने गरि भने हुन सकेन।

निगमका अधिकारीहरुले संसदका विभिन्न समितिमा पेश गरेका प्रतिवेदनहरुलाई अहिले पनि सम्झन्छन् सांसद दिव्यमणी राजभण्डारी। १३ घण्टासम्मको यात्रालाई बीचमा फ्यूल नभरि उडान हुने सक्ने दावी सो समयमा भए पनि अहिले उडान गर्ने समयमा त्यो नदेखिएकोमा राजभण्डारीले आश्चर्य प्रकट गरे।

निगमकै इतिहासमा सबैभन्दा लामो उडानमा जान पाउँदा चालक दलका सदस्यहरु खुसी थिए। तर एकैपटक गन्तव्य पुग्न भने उनीहरुले पनि पाएनन्। यो यात्राले त्यतिबेला भनेको कुरा पुरा हुन नसकेको रुपमा पनि हेर्न मिल्छ राजभण्डारीले बताए।

वाइडबडी जहाज खरिद गर्दा सुरुमा बिचौलियामाथि बिचौलिया खडा गरी प्रस्ताव माग्दा अधिकतम टेकअफ वेट २४२ टन भारवहन क्षमता राखेको थियो। तर पछि जहाज आउँदा २३० टन भारवहन क्षमताको मात्र आएको थियो। यसरी १२ टन भारवहन क्षमता घटाइयो तर मूल्य भने २४२ टन भारवहन क्षमताकै तिरिएको थियो।

एयरबस कम्पनीले सुरुमा २४२ टन भारबहन क्षमताको दिने प्रस्तावमा उल्लेख गरेर २३० टन भारवहन क्षमताको मात्र दिंदा पनि उसको भुक्तानी खुरुखुरु दिइएको थियो। २४ अर्बमा खरिद गरिएका दुई वटा वाइडबडी जहाजमा ६ अर्ब ५९ करोड रुपैयाँ घुस कारोबार भएको संसदको सार्वजनिक लेखासमितिले सो सयममै ठहर गरेको थियो।

निगमले उभ्याएको विवादास्पद बिक्रेता हाईफ्लाई एक्स आयरल्याण्डले सुरुमा प्रस्ताव २४२ टनकै जहाज दिने भनेर पेश गरेको थियो। तर पछि जहाज आउँदा २३० टन क्षमताको मात्र आएको थियो।

निगमका एक उच्च अधिकारीका अनुसार २४२ टन भारबहन क्षमताको जहाजले लगातार १३ घन्टासम्म उडान गर्नसक्छ। यदि २४२ टनको जहाज आएको भए सिधै सिड्नीसम्म उडान गर्नसक्थ्यो। तर २३० टनको जहाजले मुस्किलले ९ देखि १० घन्टासम्म मात्र लगातार उडान गर्नसक्छ। हाम्राकुरा बाट साभार 



शुक्रबार २१, चैत २०७६ १०:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.