गोदावरीमा जग्गा विवादका उजूरी अत्यधिक

Yugnepal     766 पटक पढिएको    

गोदावरीमा जग्गा विवादका उजूरी अत्यधिक 

गोदावरी, १३ फागुन
 गोदावरी नगरपालिकामा चालू आर्थिक वर्ष २०७५÷७६ को फागुन ५ गते सम्ममा ३० भन्दा बढी जग्गा विवादका उजूरी परेको छ । 

सरकारले स्थानीय निकायलाई न्यायिक समितिको जिम्मेवारी दिएपछि जग्गा विवादका बढी उजूरी नगरपालिकामा परेका हुन् । नगरपालिकामा चालू आवको शुरुआतदेखि फागुन ५ गतेसम्म कूल ६० उजूरी परेको छ । गोदावरी नगरपालिकाका न्यायिक समिति सचिवालय सदस्य सन्तबहादुर देसारका अनुसार नगरपालिकामा परेका कूल ६० उजूरीमध्ये ३० जग्गा विवादका छन् । 

उहाँले भन्नुभयो, “बाँकी अन्य उजूरी निर्माण रोक्का, न्याय दिलाउने सम्बन्धि, आवश्यक कारवाही तथा बाटो कायम र जग्गा फिर्ता गर्ने विषयका रहेका छन् । ” गोदावरीमा अहिलेसम्म सम्बन्ध विच्छेद सम्बन्धि उजूरी भने परेको छैन । 

सेवा तथा सुविधाको माग

    गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले नगरपालिकासँग आवश्यक विभिन्न सेवा तथा सुविधाको माग गरेको छ । विभिन्न वस्तुको अभाव रहेकाले नगरपालिकासँग माग गरिएको गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मधुराम केसीले बताउनुभयो । “नगरपालिकाबाट प्रत्येक महीना बैठक बसेबापतको यातायात खर्च पाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो । नगरपालिकाको स्वास्थ्य शाखाले यहाँको १४ वटै वडामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

    नगरपालिकाले स्वास्थ्य शाखामा कार्यरत कर्मचारीको समस्यालाई सयममै ध्यान नदिँदा प्रत्येक महीना पाउनुपर्ने पारिश्रमिक पाउन ढिलाइ भएको छ । “नगरपालिकामा बिरामीको स्वास्थ्य परीक्षणका लागि थुप्रै आवश्यक सामग्री थप्नुपर्ने छ”, केसीले थप्नुभयो, “औषधिलगायत अन्य वस्तु भण्डारणको लागि उचित भण्डारण कक्षको व्यवस्थापन गर्न सकिएको छैन । ” 

    गत वर्ष स्वास्थ्य शाखामा कार्यरत कर्मचारीको रकम निकासाको काम ढिलो हँुदा ९० प्रतिशत काम मात्र सम्पन्न भएको केसीले बताउनुभयो । प्रदेश सरकारले यस वर्षदेखि वर्षको एक पटक स्वास्थ्य स्वयंसेविकालाई दिइने रु दुई हजार ५०० सञ्चार खर्चबापतको रकमका लागि नगरपालिकामा पटकपटक ताकेता गर्दै आएको छ । 
 



सोमबार १३, फागुन २०७५ ०६:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.