गुल्मी । सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । तीन जना हराइरहेका छन् । पहिरोले घरहरु बगाउँदा सत्यवती गाउँपालिका वडा नम्बर ४ मा ७ जना र वडा न ३ मा ३ जनाको मृत्यु भएको हो ।
वडा नम्बर ४ को भिरकुनामा दुई सय मिटर माथिबाट आएको पहिरोले घर बगाउँदा ३२ बर्षकी निर्मला विक, २९ वर्षकी पम्फा विक, १२ बर्षकी अञ्जली विक, ५ बर्षकी हिमांशु विक, ७० बर्षकी छली विक, ९ बर्षकी सिवानी विकको मृत्यु भएको छ ।
७ बर्षकी तारा विक र डेढ बर्षका एक बच्चा बेपत्ता भएको वडा अध्यक्ष दानबहादुर रानाले बताए । लगातार भइरहेको वर्षाका कारण मंगलबार बिहान ३ बजे पहिरोले छलि विक, चन्द्र बहादुर विक, धन बहादुर विकको घर बगाएको हो ।
पहिरोले सूर्यलाल पौडेल, चन्द्र बहादुर विक, रीता विक, बनबहादुर विक, परी विकको घर पनि पुरेको छ । पहिरो आएको थाहा पाएपछि उनीहरुले भागेर ज्यान जोगाएको रानाले बताए ।
अझै पनि १८–२० घर जोखिममा रहेकाले सबैलाई सरस्वती माबिमा स्थान्तरन गरिएको छ ।
त्यस्तै सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलोलुम्पेकको दाङसिङ्गामा पहिरोले घर पुरिएर तिलकुमारी तरामु र उनका छोरा दर्शन तरामु मगर र दुर्गा सिन्जालीको मृत्यु भएको स्थलगत रूपमा उद्दारमा खटिएका सशस्त्र प्रहरी प्रमुख दिनेश रायमाझीले बताए ।
तिलकुमारीकी छोरी करिष्मा र छोरी धनी तरामु घाइते भएका छन् । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको छ । घाइतेको गाउँबाट बाहिर जाने सडक अबरुद्ध भएकाले उपचार गर्न लागि लैजान समस्या भएको वडा अध्यक्ष रुक बहादुर रानाले बताए ।
लुम्पेककै सिङ्दिमा रुद्रबहादुर विकको घर भत्किँदा माया र बबि बिक दुई जना हराइरहेका छन् । प्रहरी र स्थानीयबासिन्दाले उनीहरुको खोजी गरिरहेको रानाले बताए ।
लुम्पेकमा प्रहरी नायब उपरीक्षक मीन घले र सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश रायमाझी सहितको टोली उद्धारमा खटिएको छ भने लिम्घामा इलाका प्रहरी कार्यालय रिडिका प्रहरी निरीक्षक राधेश्याम सिहसहितको प्रहरी टोली पुगेको छ ।
लिम्घाको मुख्य सडकहरु पहिरोले भत्काएपछि यातायात अबरुद्ध छ । जसका कारण जिल्लाबाट राहत र उद्दारमा आउने टोलीलाई समस्या भएको छ ।
प्रतिकृया दिनुहोस