५० वर्षसम्म विहे नगरेका एकल महिलालाई भत्ता

Yugnepal     607 पटक पढिएको    

५० वर्षसम्म विहे नगरेका एकल महिलालाई भत्ता

 

डोटी, । डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विहे नगरी एकल जीवनयापन गरिरहेका महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने नीति अगाडि सारेको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७६र०७७ को नीति, कार्यक्रम तथा बजेटमार्फत उक्त कार्यक्रमलाई अगाडी बढाउन पहल शुरु भएको दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले जानकारी दिइन् ।

नगरपालिकाका उप–प्रमूख शिवराज खड्काले मिति २०७६ असार १० गते पाँचौ नगर सभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा उक्त बुँदालाई समेटिएको छ ।

जसमा ५० वर्षसम्म विहे नगरी एकल जीवन यापन गरिरहेका महिलाहरुलाई वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक सुरक्षा भत्ता नगरपालिकाले प्रदान गर्ने र उनिहरुलाई सिपमुलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिईने नीति नगरपालिकाले लिएको छ । जसले गर्दा उनिहरुको आर्थिक तथा सामाजिक विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाभित्र पचास वर्षसम्म विहे नगरी बसेका एकल महिलाहरु के कति संख्यामा छन्, उनिहरुलाई परिचय पत्रको व्यवस्था कसरी गर्ने र सामाजिक सुरक्षा भत्ता कसरी प्रदान गर्ने भन्ने विषयमा विशेष कार्यविधी तयार गरीन लागेको नगरपालिका श्रोतले जानकारी दिएको छ । सकभर आगामी मंसिरदेखि शुरुवात गर्ने गरी कार्यविधि तयार गरिने नगरप्रमूख मलासीले बताइन् ।

एकल महिलाका क्षेत्रमा दिपायल सिलगढी नगरपालिकाले नौलो कामको शुरुवात गरेको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए ।

अब नगरपालिकाको महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारीहरुलाई कार्य क्षेत्र विभाजन गरी गाउँ–गाउँमा परिचालन गरेर निगरानी समूह गठन गरी महिलाका सवालहरु नगरपालिकामा ल्याउने र सोहि बमोजिम नगरपालिकाबाट कार्यक्रम सञ्चालन गरिनुपर्ने पनि उनको सुझाव रहेको छ ।



सोमबार ०६, साउन २०७६ ११:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.