यात्रा अनुभूति  मंगोलियामा नेपाली संस्कृतिको झल्को

यात्रा

Yugnepal     1072 पटक पढिएको    

यात्रा अनुभूति  मंगोलियामा नेपाली संस्कृतिको झल्को

 

करिब चार बर्षपछि थेन्जिन जाँदै थिएँ । अविस्मरणीय छ मेरा लागि त्यस ठाँउको भ्रमण । जुनबेला म त्यहाँ गएको थिएँ, त्यतिखेर मेरो देशले नाकाबन्दीको चरम यातना भोगिरहेको थियो । मलाई चीनको मनपर्ने शहरमध्येको एक हो थेन्जिन । अर्को सुन्दर र व्यवस्थित शहर हान्झाउबाट तीव्र गतिको रेल पक्रनु थियो थेन्जिनका लागि ।

चीनका प्रमुख शहरहरुमा किरासरी मान्छेको भीड छिचोल्नु यसै पनि चुनौतीपूर्ण बन्ने गर्छ । सोहीमाथि भाषिक तगारो चीनका हरेक प्रान्तमा नाग्न नसकिने समस्या हो । तर, यस्तै चुनौतीका बीच गरिने यात्राको रस्वादन आफैमा स्वादिलो हुन्छ । चीन आफैंमा एक सिंगो संसार जस्तो लाग्छ मेरो विचारमा । हरेक प्रान्तमा सफर गर्दा भिन्न मुलुकको भ्रमण गरेजस्तै महसुस हुन्छ । लाग्छ पृथ्वीभरिका सबैसबै चीजहरु यही छन् ।

रेलको यात्रा आनन्दमयी लाग्छ मलाई । समय बचत र सुरक्षित पनि । त्यसैले त यसको लोकप्रियता चुलिँदो छ । आरामदायी र खुल्ला कुर्सीमा बसेर आँखाले समेट्न सकेसम्मका दृश्यपान गर्नुको मजा नै छुट्टै । समतल भूगोलमा एकनास झुलेका खेतीहरुले घन्टौंसम्म नयनसँगसँगै यात्रा गर्छ । आधुनिक प्रविधियुक्त कृषि प्रणालीले होला, गराहरुमा मानिसको उपस्थिति नगण्य रुपमा मात्र देखिन्छ । लाग्छ पृथ्वीको अमूल्य खाध भण्डार यही हो । म आफ्नो कृषि प्रधान देशलाई मिस गरिरहेको हुन्छु ।

सरदर प्रतिघण्टा तीनसय किलोमिटरको गतिमा बत्तासिएको रेलको पाँचघण्टा समय अपुग जस्तो लाग्छ । यात्रामा पढ्न भनेर साथमा बोकेको पुस्तकले एकपाना पल्टिन पाउँदैन । यो सबको कारण लोभी नजर नै हो भन्दा फरक नपर्ला । प्रकृतिले दृष्टिहरण गरिदिएको छ । त्यसैले त भनिन्छ प्रकृति पूजनीय छ ।

भमक्क साँझ परिसक्दा स्थानीय समय आठ बजिसकेको छ । डिजिटल बोर्डले तोकेकै घडिमा नाक चुच्चे रेलले इमानका साथ थेन्जिनको स्टेशनमा ओह्रालिदिन्छ । गेटबाट बाहिर निस्कँदै गर्दा पुराना मित्र लिउ चसियाङलाई ठम्याउन कठिन पर्छ । उनी हामीलाई लिन भनी डेढ घण्टाको पर पाझाउ शहरदेखि आएका थिए । चार बर्षपछिको भेट थियो हाम्रो । हस्तमिलनसँगै, अंगालोमा कसिँदै आँखा चिम्लेर हाँसोको फोहरा छुटायौँ ।

चार बर्षमा थेन्जिन स्टेशन वरपरको वातावरणमा निकै परिवर्तन आएछ । एक फन्को नजर घुमाउनासाथ यसै अन्दाज लगाउन सकिन्थ्यो । म र मेरो देशको विकास क्रममा भने कपुतन्त्र बाहेक केही परिवर्तन आएन ।

पहिले भेट्दा जस्तै साह्रै रसिक छन् लिउ । शब्दपिच्छे खित्का छोड्छ । खित्का छोड्दा आँखाको गेडा परेलाभित्रै बिलाउने गर्छ । पार्किङ्गमा राखिएको भोल्भो जीपभित्र उसको छोरी चसिङ चहिन र दोभाषे साथी छन यान हामीलाई नै पर्खिबसेका रहेछन् । लिउ ब्रो लवाइमा मात्र हैन, सवारीसमेत विलासी भएछन् । सौखिन छन् लिउ । पहिलो भेटमै दुई बोटल रसियन भोड्का कोसेली बोकेर आएका थिए ।

उनको घरेलु शहर पाझाउ पुग्दा झण्डै दश बज्न आँटिसकेकाले सरासर चारतारे होटलमा पोका पुन्तरालाई विश्राम दिएर हामीलाई खानाको गन्तव्यतिर लगे । सोधनी भोजनीको साथमा लिउसँग पटकैपिच्छे ग्याम्बे गर्दागर्दै रातको एक बजिसकेको पत्तो पाइएन । जतिसुकै आरामदायी यात्रा गरेतापनि थकानको ह्याङ झुण्डिरहेकै हुन्छ । बिस्तरालाई खुसी पार्न एकमुष्ठ सबैजना च्यात्तियौं ।

भोलिपल्ट दिउँसो एक बजे लञ्चका लागि भनेर लिउको परिवार पुन हामीलाई राखेको होटलमा लिन आइपुगे । पाझाउको दुई रात र तीन दिनको बसाइमा कामभन्दा माम ज्यादा भयो । अब हामी भोलिबाट इनर मंगोलियातिर घुम्न जाने भन्दैगर्दा उनीहरु सबैजना एकैसाथ गलल हाँसे । शरमले हाँसेका रहेछन् । रेलबाट १० घण्टामा पुग्न सकिने इनर मंगोलियामा तीमध्ये कोही पनि गएका रहेनछन् । त्यसैले अप्ठ्यारो मानेर हाँसेका रहेछन् । जाँदा रेलबाट र फर्कंदा जहाजको टिकट अनि होटल बुकिङसमेत अनलाइनबाट उनैले गरिदिएर मेजमानको पर्म लाइदिए हामीलाई ।

मिस्टर लिउ बचनका पक्का मान्छे । सबेरै ६ बजेर ३० मिनेटमा हामी होटलबाट बाहिर निस्कँदा पार्किङमा हामीलाई पर्खिबसेका रहेछन् । त्यसपछि फटाफट एकसय बीसको स्पिडमा बेइजिङबाट नौ बजेको रेल पक्रनका लागि रवाना भयौँ । एकनासको उसको रफ्तारले केही कुराको संकेत गर्दथ्यो । नभन्दै जब बेइजिङ प्रवेश गर्न थाल्यौं, ट्राफिक जामको जात्रा देखिन थाले ।

मित्र ज्याक र मबीच गन्थन बढ्न थालेको भेउ लिउलाई पनि पर्‍यो । रेल भेट्न गाह्रो छ । अब भने उसले पनि घरीघरी घडीतर्फ नजर लाउन थालेको थियो । हामीले भन्यौं, नजिकै मेट्रो छ भने गाडीलाई कतै पार्किङमा राखेर जाउँ । मनासिव लाग्यो, लिउलाई हाम्रो प्रस्ताव । उनले पार्किङस्थलको खोजीमा फनफनी गाडी घुमाए । कतै खाली भेटिएन । समग्र बेइजिङको व्यस्तता एकाविहानै झल्कियो ।

झण्डै पन्ध्र(बीस मिनेट पार्किङको खोजीले समय अझ अप्ठ्यारो बनाइदियो । खुली नसकेको सपिङ मलको चौथो बेसमेन्टमा गाडी त राखियो । तर, बाहिर निस्कने दुलो नभेट्दाको दौडधूप बेतोड थियो । कतै लिफ्ट चलेको छैन । कतै अन्तिम गेट खुलेको छैन । एकाध भेटिएका सेक्युरिटी गार्डको सुझाव बमोजिम बल्लतल्ल बाहिर निस्कन सफल भयौं ।

हतासमा टिकट हातमा च्यापेर मेट्रोतिर हान्नियौं । उभिइनसक्नुको भीड र ठेलमेल देख्दा काठमाण्डौंको महिलामैत्री सिटहरुधेरै सुरक्षित लाग्थे । हुलका हुल मेट्रोभित्र छिर्ने र निस्कनेमा पुरुषभन्दा महिला नै बढी देखिन्थे । ४० मिनेटको मेट्रो यात्रामा तीसचोट त घडी हे¥यौं होला । हामीले समयलाई कहिले पो पर्खेका छौं र उसले हामीलाई पर्खियोस् । जतिसुकै रस्साकस्सी गर्दा पनि हात्तिजस्तो लम्किसकेको रेललाई भेट्न सकेनौं ।

हरेस मानेर लामो श्वास फेरे लिउले । निधारको पसिना झड्कारे । ओठमुख सुकेर तीनैजनाको बोल्ती बन्द भएको थियो । निकैबेरको विवादपछि तै लिउले अर्को स्टेशनबाट चढ्ने गरी दुईघण्टा पछाडिको टिकट लिइदिए । राहतको महसुस भयो । पैसा खेर गएन । लिउलाई पनि थप दुःख दिन मन भएन र उनलाई फर्किन आग्रह गर्दै हामी रिजर्भवाला ट्याक्सी पक्रेर रवाना भयौं ।
एउटा सुविधा र सम्पन्न घरानाका व्यक्ति हुन् लिउ । अहम भन्ने छनकै छैन । उनको विचारमा सम्बन्ध भन्दा व्यवसायिकता त निकै पर छ । मैले नेपालबाट लगेको कोसेली काठको कलात्मक माने र पस्मिना लिउलाई दिन नभ्याउँदै उनले दुई बोटल इम्पोर्टेड ह्विस्की सुम्पिए ।

नागबेली नदीलाई घरी वारि र घरी पारि पार्दै पहाड अनि कन्दराका खोंच छिचोल्दै सुरुङबाट रेल पार गर्दा मन यसै खुसीले आल्हादित हुन्छ । अझ मसिना पहाडका टाकुराको माथि बसेर हेर्दाको रोमाञ्चकता कस्तो हुँदो हो रु मेरो मनमा थप कौतुहलता जाग्छ । मित्र ज्याक भ¥याङमाथिको बेडमा सुस्ताएको देखिन्थ्यो । म भने प्रकृतिको अनुपम छटालाई मिस गर्न रत्तिभर चाहन्नथें । थाहा छैन, यस जुनीमा यही बाटो भएर म फेरि कहिल्यै यात्रा गर्ने छु । जतिजति उत्तर पश्चिमतर्फ रेल लम्किन्छ, उत्ति नै मोहक र भिन्नखाले भूभागहरुलाई नजरमा कैद गर्नमा व्यस्त छ । १० घण्टाको रेलयात्रालाई थप लम्ब्याउन चाहन्थें, यदि समय मेरो वसमा हुन्थ्यो भने ।

प्रकृतिको मनोरम दृश्यहरु पार गरी फुत्त झिलिमिली परिवेशभित्र प्रवेश गर्दाको क्षण अद्भुत लाग्थ्यो । खुइला चट्टानी पहाडहरुले बेरेर राखेको होहट शहर कामुक देखिन्थ्यो । यही त रहेछ त्रिशुलमय शहर अर्थात इनर मंगोलियाको राजधानी होहट । व्यस्त बजारका चोक चोकनाहरुमा जताततै ठडिएका विशाल त्रिशुलहरु सुरक्षाका प्रतिक देखिन्थे । ठूला महल र सडक छेउछाउतिर प्रतिमामा कुदिरहेको घोडामा सवार सम्राटहरुको हात हातमा तिखा त्रिशुल ठडिएकाले युद्धका बेला त्रिशुल महत्वपूर्ण हतियार रहेको कुरा बुझ्न सकिन्थ्यो ।

शहर बजार घुम्नुमात्र हाम्रो उद्देश्य थिएन । बर्षौं अघिदेखि मेरो मानसपटलभित्र बसेको विशाल समथर घाँसे मैदान र एकनासे खालका मध्यम पहाडी चट्टानहरु हेर्न आतुर थिए । जसको क्षेत्रफल नेपालकोभन्दा कैयौंगुणा ठूलो छ । ढिलो नगरिकन भोलिपल्ट बिहानै हामी एउटा कार रिजर्भ गरेर सय किलोमिटर भन्दापर थप उत्तरतर्फको सिलामुरेन ग्राँसल्याण्ड जाँदा भयौं । जसले हामीलाई तिब्र बोलावट गर्दै थिए ।

प्रविधिले संसारलाई नियाल्न सहज बनाइदिएको छ । नत्र मेरो देशबाट अजङ्गका चट्टानी श्रृंखला पार गरी आउन असम्भव जस्तै हुनेथियो होला । करिब ८ सय वर्षअघि सम्राट चंगेज खाँले हिमालय पार गरी हिन्दुस्तानसम्म आक्रमण गर्न निस्के जसरी सेनामेना बटुलेर वारपार गर्ने क्षमता हामीमा कहाँ हुँदो हो र । धन्य छ चमत्कारिकयुक्त प्रविधि, जसले हाम्रा यात्राहरुवर्षबाट महिना, हप्ता हुँदै केही घण्टामा सीमित तुल्याइदिएको छ ।

सन् ११६२ मा जन्मेका शक्तिशाली बादशाह चंगेज खाँले लगभग २१ बर्ष शासन गर्दा दुनियाँकै ठूलो मंगोल साम्राज्यको सफलतापूर्वक स्थापना गरेका थिए । मात्रै ६५ वर्ष जिएका चंगेज खाँका जताततै रहेका उनका शालिक र उनका वस्तुहरुको संरक्षणले पनि उबेला उसको प्रभाव कति रहेछ भनेर बुझ्न सकिन्छ । मठमन्दिर, म्युजियम, महल, मार्ग यत्रतत्र उनैको प्रभाव देखिन्छ ।

अथाह क्षेत्रफल ओगटेको सिलामुरेन घाँसे मैदान क्षेत्रमा गर्मी मौसममा समेत शीतल हुन्छ । जहाँको अधिकतम तापक्रमजस्तै गर्मीमा पनि २५ डिग्रीभन्दा माथि जाँदैन । चिसो मौसममा त माइनसबाट माथि उक्लने भनेको हर्षोल्लासको क्षण बन्दोरहेछ । सहायक सडकहरु त कत्ति, कत्तिको मध्यभागमा रहेको ब्ल्याक टपबाट जति हुँइकिए पनि नसकिने उस्तैखाले भूगोल कसरी मिलिबसेका होलान् रु

जो कोहीलाई यस्तै लाग्नेछ । घाँसे मैदानको मध्यभाग नागवेली हुँदै मौन मस्किएर तैरिरहेको स साना खोलाहरुले सजीव तथा निर्जिव चोलाहरुलाई अचुक बुटी प्रदान गरेको देखिन्छ । त्यसैले त भनिन्छ प्रकृति महान छे । हरियाली मैदानको बीचबीचमा निकैपर फुलका बुकीजस्ता छरपष्ट देखिने भेंडाका बथानहरु रहेछन् । ऊबेलामा यात्राको भरपर्दो साधन बनेका घोडा र उँटहरु अहिलेसम्म पनि हुलका हुल चरिरहेका भेटिन्छन् । हावाबाट बिजुली निकाल्नका लागि ठड्याइका अनगिन्ति पंखावाला पोलहरुले रुखको अभाव पूर्ति गरेको छनक मिल्छ ।

अझ तालुखुइले पहाड र चउरीलाई स्थानीय सरकारले सोलार प्लान्ट राखेर सक्दो सदुपयोग गरेको देख्दा म मेरो देशका बाझो जमिन र जललाई उन्मुक्त भएर सम्झन सक्छु । एउटै प्लान्टबाट ३०० मेघावाटसम्म बिजुली उत्पादन गरेको देख्दा मेरो मन हायल कायल भयो । हामो देशको मन पनि यसरी नै कायल भैदिए बर्षौं समय खर्चेर अर्बौं लगानी लाग्ने थिएन कि रु

चंगेज खाँका पालामा मनोरञ्जनका लागि बनाइएको घोडा दौडाउने ठाउँलाई निकै ठूलाठूला सक्ला ढुंङ्गाका पर्खालले घेरेका थिए । त्यसको एक कुनामा अहिले आएर व्यवसायीकरणका नाममा दर्शक बस्ने आधुनिक प्याराफिट पनि बनेको रहेछ । त्यहाँभित्र छिर्नका लागि महँगो शुल्क बुझाउनुपर्ने हुन्छ । एसियाकै ठूलो गोवी मरुभूमि यही क्षेत्रमा पर्छ । एकीकृत रुपले घुमन्ते जीवन बिताउने मंगोलहरु नै यहाँका आदिवासी हुन् । सीमित संख्यामा मात्र रहेका यिनलाई देख्न कठिन हुन्छ ।

नेपालका राउटे समुदाय जस्तै फिरन्ते लाग्यो मलाई यी मंगोलहरु । अहिले आएर घुमाउने पक्की घरमा बस्न थालेकाहरु चै अलि परिवर्तित रहेछन् । मौलिकता झल्कने गरी मैदानका मध्यभागहरुमा छपक्कै खुलेका रिसोर्टहरुले पर्यटकलाई आकर्षित गर्न विभिन्नखाले प्याकेजको अफर गरेको हुन्छ । मंगोलियन कला, संस्कृति, खाना, साँझमा सांस्कृतिक कार्यक्रम लगायतका गतिविधिले मुसाफिरहरुलाई थप रौनकता थप्ने गर्छ । मलाई त पृथ्वीको विपरीत गोलाद्र्धमा आइपुगेको भान भयो ।

यस क्षेत्रको अर्को महत्वपूर्ण ठाउँ फुहुई गुम्बा पनि हो । जुन सन् १७६९ छिङ वंशको पालामा बनेको रहेछ । सम्राट छिङलोङको राज्यकालमा बनेको यस गुम्बा छैठौं जीवित बुद्धका लागि बनाइएको हो । शान्ति र सुन्दरता छर्दै यस मन्दिरलाई नदीले घेरेको छ । प्रकृतिको अनुपम छटा र मलिलो मौसमको सफरले शरीरमा थकानको महसुस हुन दिएको छैन । यसै पनि ऐतिहासिक शान्त ठाउँ सोहीमाथि जता गयो उतै बुद्धका मन्दिर र गुम्बाहरुले गर्दा तीर्थाटनमा गएको आभाष हुन्छ ।

सिलामुरेन घाँसे मैदानबाट राजधानी होहटमा फर्किंदा झन् भव्य बुद्धका मन्दिरहरु देखिए । शहरको मध्यभागमा निकै ठूलो ठाँउ ओगटेर फैलिएको ताझाउ मन्दिर मिंग राजवंशको पालामा सन् १५८० मा बनेको रहेछ । यो भित्री मंगोलियाकै पुरानो तथा ठूलो शाक्य मुनि बुद्ध मन्दिर हो । यहाँ सन् १५८६ मा तेस्रो दलाई लामाले भ्रमण गरेको कुरा उल्लेख गरिएको पाइन्छ । जुन कलात्मक त छ नै, नेपालको कुनै चैत्यमा पुगेको जस्तो अनुभूति गर्न सकिन्छ । खँदिलो गरी सजाइएका लुङदरहरु स्वयम्भूबाट आएको हावाको झोंकाले नाचिरहेजस्तो लाग्छ ।

अचम्म त प्यागोडा शैलीमा बनेका प्रत्येक मठहरुका माथि रञ्जना लिपिमा बुद्धका सुन्दर वाणीहरु कुदिएको देख्दा नेपालभित्रको परिवेशको झल्को दिन्छ ।

चीनका अधिकत्तर स्थानमा मिंग वंशका पालामा धेरै नै कलात्मक वस्तुहरुको तरक्की भएको पाइन्छ । जहाँ अहिलेका पुस्ताले चाख मानेर संरक्षित गरेकाले पर्यटनको पर्याय बनेको देखिन्छ । हामीले बुद्ध नेपालमा जन्मेको भनेर जति नै गर्व गरेता पनि सताब्दियौं पहिले यति पर पुगिसकेको हाम्रो कला र संस्कृतिलाई समेत प्रवद्र्धन गर्न सकेका रहेनछौं । अनलाइनखबर



शनिबार २१, असार २०७६ ०३:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal