धनगढी / नेकपा एमालेले अछामका पाँच जनालाई पार्टीबाट निकालेको छ। एमाले अछामको सिफारिसमा प्रदेश कमिटी सदस्य र प्रदेश सल्लाहकार परिषद सदस्य रहेका पाँच जनालाई निष्कासन गरिएको हो।
सल्लाहकार परिषद सदस्य लालबहादुर खड्का र हर्क कुँवर तथा प्रदेश कमिटी सदस्य जंगबहादुर बिक, दुधकला विष्ट र केशर मियाँलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले जानकारी दिए।
प्रदेश कमिटीको पाँचौ सचिवालय बैठकले पार्टीको विधानविपरीत विभिन्न गतिविधिमा संलग्न भएको देखिएकाले पाँच जनालाई निष्कासन गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै खड्कालाई स्पष्टीकरण सोधिएकोमा चित्त बुझ्दो जवाफ पनि दिएका थिए।
‘एकपटकका लागि कार्बाही नगर्ने भनिएकामा फेरि सोही गतिविधिमा संलग्न रहेको देखिएपछि निष्कासन गर्ने निर्णय भएको हो,’ सचिव चन्दले भने। प्रदेश कमिटी सदस्य बिकलाई स्पष्टीकरण सोधिएकोमा जवाफ दिएका थिएनन्।
यस्तै उनीहरू पूर्वउपाध्यक्ष डा। भीमबहादुर रावलको मातृभूमि जागरण अभियानमा लागेको पनि बताइएको छ। सोही कारणपछि उनीहरूलाई कारबाही गरिएको हो। सोही अभियानमा लागेका बिष्ट, मियाँ र कुँवरलाई पनि प्रदेश कमिटीको पाँचौं सचिवालय बैठकले पार्टी विधानको धारा ८१ को उपधारा ९१० बमोजिम पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको छ।
यस अगाडि पनि नेकपा एमाले अछामले पार्टीको अनुशासन उल्लङ्घन गरेको आरोपमा ६ जना नेताहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको थियो।
जसमा जिल्ला सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाहसहित अन्य पाँच नेताहरू थिए।निष्कासित हुनेहरूमा प्रकाश शाह, सागर सिंह बाव्ली, बल बहादुर कुँवर, शंकर भुल, रतन बहादुर रावल, र साँफेबगर नगर कमिटीका अध्यक्ष ढकेन्द्र कुँवर रहेका थिए। उनीहरूलाई डा। रावलको पक्षमा सक्रिय भूमिका खेलेको र पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरेको आरोप लगाइएको थियो।
प्रतिकृया दिनुहोस