प्रचण्ड–ओलीबीच तेस्रो गोप्य वार्ता, नारायणकाजी पुगे पाँच पटक बालकोट

युग संवाददाता     64 पटक पढिएको    

प्रचण्ड–ओलीबीच तेस्रो गोप्य वार्ता, नारायणकाजी पुगे पाँच पटक बालकोट

 

काठमाडौँ । माओवादी केन्द्रको स्थायी समितिको बैठकमा नेपाली कांग्रेसलाई राष्ट्रिय सभाको अध्यक्ष नछोड्न दबाब दिइएको छ । माओवादीका अधिकांश स्थायी समिति सदस्यहरुले यस्तो दबाब दिएका हुन् । 


उनीहरुले कांग्रेसको महासमितिले तय गरेको निर्णयलाई काउण्टर दिने उद्धेश्यले यस्तो भने पनि वास्तविकता भने अर्कै रहेको छ । खासगरी माओवादीको उच्च नेतृत्व नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको निरन्तर सम्पर्कमा रहेको पाइएको छ । 

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओलीसँग माघको अन्तिम साता यता तीन पटक गोप्य भेटघाट गरिरहेको अवस्थामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने फागुन महिनामा पाँच पटक भेटघाट गरेका छन् । 

उच्च सुरक्षा स्रोतले दिएको जानकारीअनुसार श्रेष्ठ आफैँ बालकोट पुगेर ओलीसँग भेटघाट गरेका थिए । ‘फागुन यता गृहमन्त्रीज्यू पाँच पटक बालकोट जानु भएको छ’, उच्च सुरक्षा स्रोतले भन्यो । तर उनले त्यहाँ गएर कुन कुन सन्दर्भमा कुराकानी गरे भन्ने बारेमा बाहिर आउन सकेको छैन । 

नारायणकाजीको भेटबारे ओलीको सचिवालयमा रहेका केही व्यक्तिले चासो राखेको भए पनि ओलीले पनि केही बताएका छैनन् । 

नेकपा एमालेले संसदमा गृहमन्त्रीको राजीनामा माग्न थालेपछि उनी अत्तालिएर ओलीको शरणमा पुगेको स्रोतको दाबी छ । उपप्रधानमन्त्री श्रेष्ठले ओलीसँग वामगठबन्धनको सरकार बनाउनुपर्छ भनेर प्रस्ताव गरेको र त्यसका लागि आफूले पहल गरेको भन्नसमेत भ्याएका थिए । ‘नारायणकाजी आएर वामगठबन्धन गर्नुपर्छ भन्नुहुन्छ’, बालकोट निकट स्रोतले भन्यो । 

माओवादीका तल्लो तहका नेताहरुदेखि उच्चस्तरका नेताहरुसमेत एमालेलाई फकाउने नीतिमा लागेका छन् । प्रचण्डलेसमेत ओलीलाई तीन पटक गोप्य भेटघाट गरिसकेका छन् । 

तर ओली–प्रचण्ड भेटघाटको विषयलाई भने एमाले र माओवादी दुवैले गोप्य राखेका छन् । टीआरसी विधेयकमा एमालेलाई मनाउने भन्दै बालुवाटार र सिंहदरबारमा औपचारिक भेटघाट गर्दै आएका छन् । माओवादीका नेताहरु वर्षमान पुन, रघुवीर महासेठ लगायतका दोस्रो तहका नेताहरुले पनि भेटघाटलाई बाक्लो बनाएका छन् । 

२०७९ पुस १० गते नेकपा माओवादीको नेतृत्वमा सरकार बनेपछि राजनीतिक कोर्स परिवर्तन गरेका प्रचण्डले आफ्नो अनुकूल नदेख्ने बित्तिकै फेरि एमालेसँग नजिक बन्ने कोसिस जारी राखेका छन् । 

तर एमालेले वर्तमान गठबन्धनको विषयमा सार्वजनिक धारणा नआउँदासम्म प्रचण्डको विश्वास गर्न नसकिने जनाउ दिइएको छ । 



बुधबार १६, फागुन २०८० ०५:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.