माया हत्या प्रकरणः ‘प्रेममा धोका, त्यसपछि हत्या’

युग संवाददाता     697 पटक पढिएको    

माया हत्या प्रकरणः ‘प्रेममा धोका, त्यसपछि हत्या’

 

बैतडी  मंसिर १८  / मा महेन्द्रनगरबाट पक्राउ परेका बैतडीका २२ वर्षीय भरतराम कोलीले ‘प्रेममा धोका पाएपछि हत्या गरेको’ प्रहरीलाई बताएका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा घर भएकी माया लुहारसँग आफ्नो अफेयर रहेको र धोका पाएपछि उनको हत्या गरेको कोलीले बताएका हुन्। हत्या आरोपमा पक्राउ परेका कोलीलाई बैतडी प्रहरीले आज सार्वजनिक पनि गरेको छ। 


सोही क्रममा प्रहरीले कोलीले आफू हत्यामा संलग्न रहेको बयान दिएको जनाएको थियो। पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया मंसिर १४ मा मृत फेला परेकी थिइन्। माया लुहार घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकी थिइन्। त्यसपछि मायाको हत्या गरेको आरोपमा सशस्त्र प्रहरीका जवान कोलीलाई प्रहरीले पक्राउ गरेको थियो।


प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा म्यादी प्रहरीको बर्दीमा चुनावको सुरक्षामा खटिएकी माया र भरतराम प्रेममा थिए। मायाको मोबाइल चेक गर्दा अन्यसँग कुरा हुने गरेको थाहा पाएपछि भरतरामले हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।


बैतडीको शिवनाथ गाउँपालिका–४ का घर भएका भरतराम प्रेमिकाको हत्यापछि भागेर महेन्द्रनगर गएका थिए। भरतराममाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ। मायाका परिवारले किटानी जाहेरी दिएकै दिन उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो।



सोमबार १९, मङि्सर २०७९ ०२:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal