कांग्रेसको केन्द्रीय सदस्यमा १० महिला मनोनीत

युग संवाददाता     209 पटक पढिएको    

कांग्रेसको केन्द्रीय सदस्यमा १० महिला मनोनीत

काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा थप १० जना सदस्य मनोनीत गरेका छन् । सभापति देउवाले मंगलबार विधानको व्यवस्थाबमोजिम केन्द्रीय कार्यसमितिमा एक तिहाई महिलाको संख्या पुर्‍याउने गरी एकैपटक १० जना नेताहरुलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले १० जना नेताहरुलाई केन्द्रीय सदस्य पदमा मनोयन गरेको जानकारी दिए ।

देउवाले किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ्ग), रुक्मीणी कोइराला (मोरङ्ग), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी), र सीता देवकोटा (नवलपुर) लाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्।

यससँगै कांग्रेसको केन्द्रीय कार्यसमिति १५८ सदस्यीय बनेको छ । सभापति देउवाले विधानबमोजिम केन्द्रीय समितिमा ३३ जना सदस्य मनोनयन गर्न पाउँछन् । त्यसमध्ये २३ केन्द्रीय सदस्य मनोनयन गरिसकेका छन् ।

देउवाले यसअघि पहिलो चरणमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनयन गरेका थिए । त्यस्तै, दोस्रो चरणमा जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याण गुरुङलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । गत मंसिरमा भएको १४ औँ महाधिवेशनले १३४ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो भने सभापतिका मुख्य प्रत्यासी शेखर कोइराला विधानबमोजिम स्वत: केन्द्रीय सदस्यमा मनोनयन भएका थिए ।



मङ्गलबार ३१, साउन २०७९ ०७:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.