दार्चुलामा उजुरी दिने व्यक्ति कुट्ने प्रहरी उपर छानबिन हुने

युग संवाददाता     280 पटक पढिएको    

दार्चुलामा उजुरी दिने व्यक्ति कुट्ने प्रहरी उपर छानबिन हुने

दार्चुला / न्यायका लागि दार्चुलाको गोकुलेश्वर प्रहरीमा उजुरी दिन पुगेका व्यक्ति नै प्रहरीद्वारा कुटिएको घटनमा प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोला बहादुर रावलले घटनाको बारेमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै उक्त घटनाबारे छानबिन समिति गठन गरिएको बताए।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक जगत गाहामगरको नेतृत्वमा छानबिन समिति गठन गरिएको बताउँदै प्रवक्ता एसएसपी रावलले छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा अगाडि बढ्ने बताए । 

तर, गोकुलेश्वरस्थित प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक सुरज बहादुर सिंहलाई त्यही राखेर एउटै दर्जाको व्यक्तिबाट अनुसन्धान गर्दा त्यसले न्याय देला त ? प्रवक्ता एसएसपी रावल यसो भन्छन् 'जिम्मेवारी दिएर पठाइसकेपछि उसको काम नै निष्पक्ष अनुसन्धान गर्ने हो ।' 

घटना के हो ?

असार २८ गते बैतडीको दोगडाकेदार गाउँपालिका–६ बैतडीका चक्र सिंह कार्की न्यायको लागि दार्चुलाको गोकुलेश्वरस्थित प्रहरी चौकीमा पुग्छन् । तर त्यहाँका इन्चार्ज प्रहरी निरीक्षक सुरज बहादुर सिंहले उल्टै कार्कीलाई निर्घात कुटपिट गर्छन् ।

कार्कीले आफ्नी पत्नीलाई र सोही ठाउँ बस्ने एक जना व्यक्तिसँग एकान्तमा भेटेपछि उनीहरूका विरुद्ध प्रहरीमा असार २८ गते गोकुलेश्वरस्थित प्रहरी चौकीमा उजुरी दिएका थिए ।

तर प्रहरीले कार्कीकी पत्नी र उनीसँग भेटिएका व्यक्तिलाई सोही साँझ छोडेपनि कार्कीलाई भने रातभरि थुनुवा कक्षमा राखी निर्घात कुटपिट गरेको कार्कीका दाइ भीम सिंह कार्कीले बताए । उनका शरीरका विभिन्न भागमा निल डाम छन् ।

कार्की दार्चुलाको शैल्यशिखर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हुन् । उजुरी दिने व्यक्तिमाथि नै प्रहरीले कुटपिट गरेपछि सयौँको सङ्ख्यामा गएका स्थानीय बासिन्दाले प्रहरी चौकी घेराउ गरेका थिए ।



शुक्रबार ३१, असार २०७९ ०८:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.