अछाममा शाही मृत्यु प्रकरण : मंगलसेन तनावग्रस्त, १२ प्रहरी घाइते

युग संवाददाता     323 पटक पढिएको    

अछाममा शाही मृत्यु प्रकरण : मंगलसेन तनावग्रस्त, १२ प्रहरी घाइते

अछाम / अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मृत्यु प्रकरणमा न्याय माग गर्दै भएको प्रदर्शनका कारण सदरमुकाम तनावग्रस्त बनेको छ। सोमबार शाहीको न्यायको लागि आफन्त तथा स्थानीयहरु सदरमुकाम मंगलसेन पुगेका थिए।

उनीहरुले शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै सो कार्यालय र जिल्ला अदालत अछाममा ढुंगामुढा प्रहार गर्दै प्रदर्शन गरेका थिए।त्यसक्रममा ढुंगामुढा प्रहारबाट १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुई प्रहरी निरीक्षक, महिला प्रहरीलगायत गरी १२ जना प्रहरीलाई गम्भीर चोट लागेको बताइएको छ। यस्तै, प्रदर्शनकारीहरू पनि घाइते भएको बताइएको छ। विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्याससमेत प्रहार गरेको बताएको छ। अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

गत वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा भेटिएका थिए। उनको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमती बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो।

मेयर चलाउनेसहित ७ जना घटनामा संलग रहेको आरोपमा पक्राउ परेका छन्। किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन्। उक्त मुद्दामा प्रहरीले मेयर चलाउनेसहित सात जनालाई अदालतबाट २ दिनको म्याद थप गरी हिरासतमा राखेको छ। बाँकीको पनि खोजी कार्य जारी रहेको बताइएको छ।



सोमबार २०, असार २०७९ ०४:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.