धनगढी / पतिको उपचारमा भएभरको जायजेथा सकिएपछि दार्चुलाकी मनुरी देवी धामी (मानमती)ले चन्दा उठाइन । ऋण सापट लिइन । पतिको उपचारका लागि हर सम्भव प्रयत्न गरिन । तमाम कोसिस र सबै चिज गुमाएर पनि उनले पतिलाई भने जोगाउन सकिनन् । उपचारकै क्रममा उनका पतिको भारतको लखनउस्थित सामरा अस्पतालमा निधन भयो ।
यता भएभरको जायजेथा सकियो । उता पतिको मृत्यु भयो, १३ वर्षअघिका ती दिन सम्झिँदै मानमती भन्छन्, मेरो त बाँच्ने आधारै सकियो । साथमा तीन साना छोरा बाहेक अरू कोही थिएन, केही थिएन ।
१३ वर्षअघि पतिको मृत्यु हुँदा उनी ३१ वर्षकी थिर्ईन । अहिले ४४ वर्षकी भइन । यो अवधिमा उनले थुप्रै हण्डर खाइन । अभाव झेलिन । निकै कष्ट र पीडा खेपिन ।
अभाव र दुःखको पहाडका बिच उनले हरेश भने खाईनन । न त उनी विचलित भइन । पतिको मृत्युपछि उनले हिम्मत जुटाएर काम गर्न थालिन । छोराहरूको शिक्षादीक्षा र पालनपोषणको जिम्मेवारी उनको काँधमा थियो । उनले पतिको मृत्युपछि ज्यालादारीमा घर निर्माणदेखि घरमा पेन्ट लगाउने समेत काम गरिन ।
पतिको मृत्युपछि पैसाको जोहोका लागि उनले काम गर्न सङ्कोच मानिनन् । उनी यार्चागुम्बा टिप्न अपिनाम्पा हिमाल पुगिन । मौसमी कामबाट तत्काल गर्जो टरे पनि त्यसले बाह्रै महिना जीविका चल्थेन ।
उनले केही समय प्लाष्टिकको डोरी बनाइन । चाउमिन बनाएर बेचिन । होजियारी उद्योगमा पनि केही समय काम गरिन । के काम गर्दा छोराहरूलाई हुर्काउन र पढाउन सजिलो हुन्छ ? उनी सधैँ कुनै न कुनै उपायको खोजीमा हुन्थिन ।
त्यही उपायको खोजीमा भएको बेला उनले रोजगार र उद्यमशीलताका लागि तालिम तथा परामर्श केन्द्र (टे«स) नेपालले धनगढीमा पेन्टर तालिम सञ्चालन गर्न लागेको जानकारी पाइन । र, उनी त्यही जानकारीका आधारमा टे«स नेपालको धनगढीस्थित कार्यालयमा पुगिन । उनले आफू तालिम लिन इच्छुक भएकोले तालिममा सहभागी गराई दिन आग्रह गरिन । उनको रुचि, आग्रह र आत्मविश्वास देखेर टे«स नेपालले उनलाई तीन महिना तालिममा सहभागी गरायो । तालिमपछि भने उनले पछाडि फर्केर हेर्नु परेन । जिन्दगीमा कहिल्यै कुनै औपचारिक तालिम नलिएकी मानमतीका लागि त्यो तालिम भने वरदान साबित भयो ।
तालिमपछि उनले ज्यालादारीमा काम गर्न भने छाडिन । उनले घरमा पेन्ट्स लगाउने ठेक्का लिन थालिन । लगनशीलता र ईमान्दारिताका कारण उनले निरन्तर काम पाउन थालिन । पहिले कामको खोजीमा अरूको घरमा चहार्ने मानमतीलाई कामका लागि घरमै प्रस्ताव आउन थाले । पहिले ज्यालादारीमा काम गर्ने मानमतीले यति बेला भने ज्यालादारीमा काम गर्ने सहयोगीहरू राखेकी छन् । आर्थिक अभावका कारण छोराहरूलाई पढाउन नसकेकी मानमतीले यति बेला भने एउटा घरमा पेन्ट्स गरे बापत ५० हजार रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म कमाउन थालेकी छन् । र, जीप चालकका रुपमा काम गरिरहेका दुई छोराहरूले उनलाई यति बेला पैसा कमाएर दिन थालेका छन् ।
आफ्नै कमाइले मानमतीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ शान्तिनगरमा जग्गा जोडेकी उनले त्यहाँ जस्तापाताको छाप्रो बनाइन । त्यही घरको जस्तापाता पनि हावाहुरीले तीन पटक उडायो । वर्षा याममा छानो चुहिन्थ्यो । सधैभरी हावाहुरी र वर्षाले दुःख दिन थालेपछि उनले पक्की घर बनाउने निधो गरिन । साथीभाइ आफन्तसँग सरसापट, ऋण र ज्यालादारी गरेर कमाएको पैसाले उनले पाँच कोठाको पक्की घर बनाइन ।
एक दशक लामो सङ्घर्षपछि मानमतीले आफ्नै बलबुतामा पाँच कोठाको पक्की घर मात्र बनाएकी छैनन् । उनले पेन्टरको पहिचान समेत बनाएकी छन् । त्यही पहिचान उनको जीविकोपार्जनका लागि गतिलो माध्यम बनेको छ ।तालिमले उनलाई आत्मनिर्भर त बनायो नै । कामको खोजीमा विदेशमा भौँतारिनु पर्ने बाध्यताको समेत अन्त्य गराएको छ ।
त्यति मात्र होइन, मानमती यति बेला पति वियोगमा घरभित्रै पीडा सहेर बसिरहेका एकल महिलाका लागि समेत प्रेरणाकी श्रोत बनेकी छन् ।टे«स नेपालद्वारा ब्रिटिस काउन्सिलको दक्षता परियोजनाको सहयोगमा सञ्चालित तालिम मार्फत मानमती धामी जस्ता सयौँ बेरोजगार र अभावमा बाँचिरहेका महिला तथा पुरुषहरू आर्थिक रूपले सबल र सक्षम भएका छन् । तालिमपछि उनीहरूले नयाँ पहिचान पाएका छन् । नयाँ जीवन पाएका छन् ।
प्रतिकृया दिनुहोस