समयमै स्थानीय तहको निर्वाचन  गर्ने सत्ता गठबन्धनको निर्णय

युग संवाददाता     694 पटक पढिएको    

समयमै स्थानीय तहको निर्वाचन  गर्ने सत्ता गठबन्धनको निर्णय

 


काठमाडौं । सत्ताधारी गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । आज दुई चरणमा बसेको पाँच दलीय गठबन्धनले जेठभित्रै चुनाव गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिए । पार्टीभित्र चर्को दबाबपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेठभित्रै चुनाव गर्न लचिलो बनेका थिए । 

तर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने निर्वाचन पछाडि धकेल्न खोजिरहेका थिए । आफ्नो पार्टीभित्रको डा। शेखर कोइराला पक्षको दबाब रहिरहँदा देउवा निर्वाचन आयोगले प्रस्ताव गरेको सुझावअनुसार नै चल्न खोज्दै थिए । 

देउवालाई महामन्त्री गगनकुमार थापाले दबाब दिइरहेका थिए । थापा शुरुआतदेखि नै स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्छ भन्नेमा थिए । उनले निर्वाचनमा कुनै गठबन्धन नगरी कांग्रेस एक्लै मैदानमा उत्रनुपर्ने अडानसमेत लिइरहेका छन् । 

उनको यो भनाइले भने गठबन्धनका अन्य दलहरु माओवादी र नेकपा एस झस्केका छन् । 

उनले शुक्रबारको पार्टी केन्द्रीय समितिको छोटो बैठकमा समेत समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै सभापति देउवालाई सोच्न वाध्य पारेका थिए । 

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत समयमै निर्वाचन गर्नका लागि बिहीबार सुझाव दिएकी थिइन् । निर्वाचन समयमै गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि दबाब दिएको थियो । 

महान्यायाधीवक्ता खम्ब खाती, कानून मन्त्री दिलेन्द्रप्रसाद बडू र कांग्रेस नेता रमेश लेखकले समयको समन्वय गर्नुपर्छ भन्दै वकालत गर्दै आएका थिए ।

पार्टीभित्र रामचन्द्र पौडेल सहितका केही नेताहरु भने संविधानमा चुनावको समय बाझिएको भन्दै केही समय पछाडि धकेल्न खोजिरहेका थिए । तर देउवा भने समय पछाडि सार्दा कांग्रेसलाई पनि घाटा हुने देखेर अन्ततः गठबन्धनलाई समयमै चुनाव गराउन राजी भएका हुन् ।



आइतबार १६, माघ २०७८ ०५:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.