चुनावबारे छलफल गर्न सत्तागठबन्धन बैठकमा

युग संवाददाता     566 पटक पढिएको    

चुनावबारे छलफल गर्न सत्तागठबन्धन बैठकमा


काठमाडौं । पाँच दलीय सत्तागठबन्धन स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित भएको छ । निर्वाचन आयोगले बैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको छैन ।

पछिल्लो पटक संविधानसँग बाझिएका कानून संशोधनको दाबी गरेको गठबन्धनको बैठक अहिले बस्दैछ । बिहान ९ बजे गठबन्धनको बैठक बोलाइएको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो । 

माओवादी केन्द्र र एकीकृत समाजवादी पहिले संघको निर्वाचन र त्यसपछि स्थानीय तहको निर्वाचन चाहन्छन् । त्यसैले संविधान र ऐनमा एकरूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृहकार्यमा गठबन्धन छ ।

नेपाली कांग्रेसभित्र भने मतभेद छ । डा। शेखर कोइराला समूह चुनाव सार्ने पक्षमा छैन । समयमै चुनाव हुनुपर्नेमा महामन्त्री गगनकुमार थापा लगायतले भनिसकेका छन् । सभापति देउवाले पार्टीभित्र छलफल गरेर अगाडि बढ्नुपर्ने माग भइरहँदा शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठक केबल ६ मिनेटमात्र बसेको थियो । 

यता निर्वाचनको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो दिएकी छिन् । उनले प्रधानमन्त्री देउवासँग बिहीबार छलफल पनि गरेकी छन् । 

प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि चुनाव सार्नु हुन्न भन्ने पक्षमा छ । 



शनिबार १५, माघ २०७८ ०४:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.