स्थानीय तहको निर्वाचनबारे  गठबन्धनको बैठक शनिबार वस्ने

युग संवाददाता     522 पटक पढिएको    

स्थानीय तहको निर्वाचनबारे  गठबन्धनको बैठक शनिबार वस्ने

 
काठमाडौं माघ १४।  स्थानीय तहको निर्वाचनका सम्बन्धमा देखिएको अन्योलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक भोलि शनिबार बस्ने भएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा गठबन्धनको बैठक बोलाउने निर्णय भएको हो ।


स्थानीय तहको निर्वाचन आगामी वैशाखमा गर्ने कार्ययोजनासहित निर्वाचनले सरकारलाई सिफारिस गरिसकेको छ। आयोगले सिफारिस गरेको लामो समयसम्म पनि स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारले चासो नदेखाएपछि विभिन्न आशंकासहितको टिकाटिप्पणी हुँदै आएको छ। गठबन्धनका केही घटकले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्न सरकारलाई दबाब दिएको चर्चा पनि चल्दै आएको छ । शुक्रबार प्रधानमन्त्री देउवासहित गठबन्धनका तीन शीर्ष नेताबीच भएको छलफलमा चुनाव सार्ने विषयमा बाहिर हुँदै आएको आलोचनाका बारेमा चर्चा भएको बताइएको छ ।


यस्तै स्थानीय तहको निर्वाचनका लागि देखा परेको भनिएको कानुनी जटिलता र लामो समयदेखि संसद चल्न नसकेको विषयमा पनि तीन नेताबीच छलफल भएको स्रोतले जनाएको छ। बैठकमा राष्ट्रियसभा सदस्यको हालै सम्पन्न निर्वाचनका बारे समेत समीक्षा भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए । तीन नेताबीच भएको छलफलले यी विषयमा गठबन्धनकै बैठक राखेर छलफल गरी आवश्यक निष्कर्ष निकाल्नुपर्ने ठहर गर्दै शनिबारका लागि गठबन्धनको बैठक बोलाइएको हो । यसैबीच गठबन्धन घटकका तीन शीर्ष नेताको छलफल लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिंहदरबारमै पार्टीको आन्तरिक बैठकमा सहभागी भएका छन् । उनी माओवादी केन्द्रको सरकार सञ्चालन सम्बन्धी संयन्त्रको बैठकमा सहभागी भएका हुन् ।



शुक्रबार १४, माघ २०७८ ०५:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.