सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात जनजीवन

युग संवाददाता     705 पटक पढिएको    

सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात जनजीवन


दार्चुला माघ १४। दार्चुलाको हिमाली क्षेत्रमा गत बिहीबारदेखि भारी हिमपात भएको छ। बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ।

गाउँसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको अपी हिमालका स्थानीय पोखरसिंह रोकायले जानकारी दिए । चिसोले घर बाहिर निस्कन सक्ने अवस्था छैन, उनले भने, एक सातायता बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म सबै आगोको सहारामा दैनिकी बिताइरहेका छौँ।’

धेरै दिनदेखि पारिलो घाम नपरेका कारण चिसो ह्वात्तै बढेको छ। दार्चुलाको अपी हिमाल र व्यास गाउँपालिकामा गत बिहीबारदेखि नै भारी हिमपात भएको स्थानीयले बताएका छन् । मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका लगायत स्थानीय तहमा समेत उच्च लेकाली भेगमा भारी हिमपात भएको नौगाडका स्थानीय रमेश धामीले बताए ।

हिमपातका कारण मानिसको दैनिकी प्रभावित भएको छ। वर्षा र हिमपातपछि किसान खुसी भएका छन्। यो वर्ष पटकपटक वर्षा र हिमपात भएको कारण हिउँदे खेतीका लागि राम्रो भएको कृषक प्रमेश धामीको भनाई छ। घाम नपरेको कारण ग्रामीण क्षेत्रको सञ्चार सेवा अवरुद्ध भएको छ। दार्चुलामा सञ्चालित अधिकांश टेलिकमका टावर सौर्य ऊर्जाबाट सञ्चालित भएकोले घाम नपर्दा सेवा प्रभावित भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण गुरुङले जानकारी दिए । यस्तै सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा पनि हिमपातले जनजीवन अस्तव्यस्त बनाएको छ ।



शुक्रबार १४, माघ २०७८ ०३:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal