नवितम् सोच र उर्जाका लागि सचिव पदमा मेरो उम्मेदवारी हो

युग संवाददाता     758 पटक पढिएको    

नवितम् सोच र उर्जाका लागि सचिव पदमा मेरो उम्मेदवारी हो


काँग्रेसका विभिन्न तहका निर्वाचन हुने भएपछि विभिन्न पदका आकांक्षीहरु पनि देखिन थालेका छन् । त्यसक्रममा नेपाली काँग्रेस कैलालीको सचिव पदमा  युवा नेता नृप सुनार  आकांक्षी देखिएका छन् ।

प्रस्तुत छ त्रिभुवन विश्वविद्यालय अन्तरगतको कैलाली बहुमुखी क्याम्पसबाट व्यवस्थापनमा स्नातोकोत्तर एमविए उत्तिर्ण गरेका सचिव पदका उम्मेदवार सुनारसंग  उम्मेदवारी र काँग्रेस कैलालीको अवस्थामा गरिएको कुराकानी  ।

के कात्तिक २७ गते पक्कै पनि वडा अधिवेशन हुन्छ त ?तपाई प्रचार विभाग प्रमुख भएकोले पनि काँग्रेस कैलालीको समग्र अवस्था बारे पनि बताइ दिन न ?


हो अव कात्तिक २७ गते कैलालीका १२६ वटै वडाका वडा अधिवेशन हुन्छन् । यस्तै गरेर ३० गते गाउँ तथा नगर अधिवेशन हुन्छ । मंसिर ३ गते प्रदेश अधिवेशनका लागि प्रतिनिधि छानिने छन् । मंसिर ६ गते क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छान्ने र १० गते जिल्ला अधिवेशन गर्ने भएका छौ ।

कैलालीमा पाँचवटै निर्वाचन क्षेत्रमा १८३४८ क्रियाशिल सदस्य छन् ।

४५ देखि १५० सम्म क्रियाशिल सदस्य भएको वडाबाट १६ जना र त्यस भन्दामाथि हरेक १०० जना क्रियाशिल सदस्यबाट १० जना प्रतिनिधि थप हुने व्यवस्था छ । त्यस अनुसार जिल्लाभर २५७५ जना क्षेत्रीय अधिवेशनका प्रतिनिधि छानिने छन् । छानिएका तीनै प्रतिनिधिले पाँचवटै क्षेत्रका क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र जिल्लाको नयाँ कार्यसमिति छान्ने छन् ।

प्रत्येक संघीय निर्वाचनबाट २५ जनाका दरले महाधिवेशन र १० वटा प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश अधिवेशन प्रतिनिधि छानिने छन् । यस्तै गरेर जिल्लामा एक सभापति र २र२ उपसभापति, सचिव र सहसचिव निर्वाचित हुनेछन् । एक जना कोषाध्यक्ष भने निर्वाचित जिल्ला कार्य समिति सदस्यबाटै मनोनयन हुनेछन् ।

काँग्रेसमा महिला, जनजाति, मुस्लिम, खस, आर्य, अपांग लगायत सबै पछाडि परेका वर्गहरु समेटेर प्रतिनिधि आउने व्यवस्था पनि मिलाइएको छ ।

काँग्रेसका विभिन्न तहका नेतृत्वमा युवा पुस्ताको उपस्थिति कस्तो रहला ?
वडा सभापतिमा ७० प्रतिशत युवा आउने अपेक्षा हामीले गरेका छौ । यस्तै गरेर प्रदेश र केन्द्रका प्रतिनिधिमा ४० प्रतिशत युवा आउन सक्छन् ।

जिल्ला कार्य समितिमा पनि ४० भन्दा बढी युवा निर्वाचित हुने अपेक्षा छ ।

तपाईले सचिव पदमा दावेदारी प्रस्तुत गर्नु भएको छ जिल्ला भरको कस्तो माहौल पाउनु भएको छ ?
म १२६ वटै वडामा विभिन्न कार्यक्रममा पटकपटक पुगेको छु ।

प्राय सबै नेता तथा कार्यकर्ताले मेरो काम र योगदानको कदर गरेर तपाई सचिव लड्नुस हामी जिताउछौ भनेका छन् त्यसैले मेरो माहौल राम्रो छ भन्ने बुझाइ मेरो छ ।

त्यस्तो के काम गर्नुभयो जसले तपाईलाई सचिवको उम्मेदवार हुनुपर्छ भन्ने दवाव आएको छ ?
०७२ सालमा जिल्ला अधिवेशनबाट जिल्ला कार्य समिति सदस्य भएपछि ०७४ को स्थानीय तहको चुनावका लागि १३ वटै पालिकाका घोषणा पत्र बनाउने तयारी समितिको संयोजक, स्थानीय तहको विकासको अनुगमनको संयोजक, कोभिडका बेला २८ वटा जुम बैठक गरेका थियौ त्यसको मुख्य सहजकर्ता, पार्टीलाई १३ वटै स्थानीय तहलाई जोड्न र क्रियाशिल सदस्य नविकरण प्रमुख भएर काम गरेको छु ।

म पार्टी तल्लो तहसंग जोडिएको छु । कार्यसम्पादन समिति सदस्य र प्रशिक्षण विभाग प्रमुख भएर काम गरेकोले पनि मेरो काम बारे सबैलाई थाहा छ त्यसैले सबैले सचिव लड्न उपयुक्त हुने सुझाव दिनु भएको हो ।

यस बाहेक म नेविसंगको विद्यालयदेखि क्याम्पस, जिल्ला तहको नेतृत्व लिएर केन्द्रीय सदस्य समेत भए । स्ववियू चुनाव भएन तर पनि म सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत भएको थिए । तरुण दलको केन्द्रीय सदस्य पनि भए ।

प्रतिगमन विरुद्धको आन्दोलनका क्रममा ९१ दिन जेल परे । यही बेला मैले जिल्ला प्रशासन लगायतका सरकारी निकायमा काँग्रेसको प्रतिनिधि भएर काम गरेको छु । यी धेरै अनुभवले पनि मसित सचिव पदको काम गर्ने क्षमताको विकास गरेको छ ।

सचिव भएपछि तपाईले गर्ने मुख्य काम के हुन ?
सचिवले कार्यक्रमको व्यवस्थापन गर्ने र समन्वय गर्ने गर्छ । म व्यवस्थापन र समन्वय गर्न सक्छु । नेताहरुवीचका असमझदारी छ सचिव भएको खण्डमा मैले त्यो असमझदारी अन्त्य गर्न सक्छु भन्ने विश्वास छ । नवितम् सोच र उर्जाका लागि पनि मेरो उम्मेदवारी हो ।

यसका साथै मैले काँग्रेसका क्रियाशिल सदस्यता लगायतका दस्तावेजहरुलाई अझ बलियो र चुस्तदुरुस्त बनाउने छु । जनतासंग काँग्रेसलाई जोडिरहने छु । काँग्रेसले चुनाव जिते पनि हारे पनि हामी जनतासंगै हुनेछौ । अहिले वडा सभापतिहरु चुनावपछि हराउने गरेका छन अव उनीहरुलाई पुरै कार्यकाल सक्रिय बनाउन जरुरी छ ।

पार्टीका केन्द्रीय दस्तावेज बारे जिल्लामा मात्र होइन तल्लो तहसम्म छलफल चलाउने योजना बनाउने छु । मुख्य गरेर आगामी पाँच वर्षमा काँग्रेसलाई कहाँ पुगाउने भन्ने योजना हामीले बनाउने छौ ।



सोमबार २९, कार्तिक २०७८ ०५:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.