वर्षे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

युग संवाददाता     586 पटक पढिएको    

वर्षे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

 

धनगढी असोज १५  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा अधिवेशन वर्षे अधिवेशनअन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

मन्त्री जोशीका अनुसार असोज १५ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ । सत्ता गठबन्धनसंग प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस असन्तुष्ट बनेर प्रदेशसभा बैठक बहिष्कार गरेका बेला प्रदेश सरकारले हतारहतारमा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

मन्त्री जोशीले प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्ने समय भइसकेको र सरकारसग बिजनेस नभएका कारण सो निर्णय लिनुपरेको बताइन् । उनले नेपाली कांग्रेसको असन्तुष्टिको कारण अधिवेशन अन्त्य नगरिएको बताइन् ।

‘प्रदेश सभा सञ्चालनका लागि पर्याप्त बिजनेस छैन । त्यसैकारण हामीले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हौं,’ मन्त्री जोशीले भनिन्, ‘यसमा गठबन्धनभित्रको कांग्रेसको विषय जोडिएको छैन ।

सरकारले बेवास्ता गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाउदै आएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पतालको डीपीआर निर्माणका लागि एक करोड रुपैया बजेट पनि स्वीकृत गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई तीन सय शैयाको बनाउन प्रकृया अघि बढाएको छ । सेती प्रादेशिकलाई तीन सय शैया बनाउन बिस्तृत परियोजना अध्ययन ९डीपीआर० प्रतिबेदन तयार गरी त्यसको अनुमानित लागत, डिजाईन र टेण्डरका लागि समेत गरी एक करोड रुपैया स्वीकृत गरेको छ ।

प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सेती प्रादेशिक अस्पताललाई तीन सय शैयाको बनाउन प्रकृया थालिएको जानकरी दिईन ।

प्रवक्ता जोशीका अनुसार मन्त्री परिषदको बैठकले सुदूर पश्चिम प्रदेश लोक सेवा आयोगको २०७७र७८ को वार्षिक प्रतिबेदन प्रदेश सभामा पेश गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी प्रदेश उच्च शिक्षाको संभाव्यता अध्ययनका लागि गठन भएको कार्यदललाई समेत बैठकले पूर्णता दिएको छ ।


प्राविधिक शिक्षाविद् डाक्टर खेमराज जोशीको संयोजकत्वमा नौ सदस्यीय कार्यदललाई बैठकबाट पूर्णाता दिइएको हो ।

मन्त्री परिषदको बैठकले सुदूरपश्चिमको डोटी, डडेल्धुरा र कञ्चनपुरमा प्रदेश लेखा ईकाई कार्यालय गठन गर्ने र तीन वटै कार्यालयमा पाँच÷पाँच जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।



शुक्रबार १५, असोज २०७८ ०३:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.